बनेपा (काभ्रे) । काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु हुने भएको छ ।
आगामी एक महिनाभित्र उक्त सेवा विस्तार गर्न लागिएको हो । यससँगै जिल्लाका १३ वटै स्थानीय तहबाट नागरिकले भूमिसम्बन्धी प्रशासनिक सेवा लिन पाउने छन् ।
भूमि प्रशासन कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीका अनुसार धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, तेमाल, चौँरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाबाट उक्त सेवा सञ्चालन हुनेछ ।
जिल्लाको रोशी र भुम्लु गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाबाट उक्त सेवा सञ्चालन हुँदै आएको छ । सेवा सञ्चालनका लागि भूमि प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहमा आवश्यक समन्वय र सहजीकरण गर्न ‘सम्पर्क व्यक्ति’ तोकेको छ ।
कार्यालय प्रमुख सुवेदीले सेवा विस्तारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।






