काठमाडौँ । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणबाट नेपाल-भारत सम्बन्धमा सकारात्मक वातावरण बनेको जनाएको छ। भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको सरकारको भनाइ छ।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ सम्भावनासहित अघि बढाउने विश्वास व्यक्त गरे।
‘लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौँ,’ खनालले भने ।
उनका अनुसार भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यबाट ठोस परिणाम हासिल गर्ने विषयमा छलफल भएको थियो।
परराष्ट्र मन्त्री खनालले वर्तमान सरकारले राष्ट्रिय हितको प्रवर्द्धनसँगै आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए। भारतसँगको सहकार्यलाई पनि सरकारले सोही प्राथमिकताअनुसार अघि बढाउन चाहेको उनको भनाइ थियो।
उनले नेपाल र भारतबीचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिक लाभान्वित हुने गरी सहकार्य विस्तार गर्नु भ्रमणको उद्देश्य रहेको स्पष्ट पारे।
‘मित्रराष्ट्र भारतसँग रहिआएको सदियौँ पुरानो घनिष्ठ, बहुआयामिक र सहयोगात्मक र जनस्तरको सम्बन्ध एवं सहकार्यलाई थप मजबुत बनाइ दुवै देशका नागरिकले लाभ प्राप्त गर्ने कुरामा यो भ्रमण केन्द्रित रह्यो,’ उनले भने ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध विस्तार र त्यसलाई परिणाममुखी बनाउने विषयमा भएको छलफललाई सरकारले सकारात्मक रूपमा लिएको छ। परराष्ट्र मन्त्री खनालले भ्रमणले आपसी सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने विश्वास व्यक्त गरेका छन्।






