काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणको स्काडा प्रणाली तथा डिजिटल सञ्चार सञ्जाल विस्तारसम्बन्धी आयोजनामा कुनै एक कम्पनीलाई मात्र लक्षित गरी प्रविधि तथा उपकरण छनोट नगरिएको बताएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा उनले आयोजनासम्बन्धी उजुरीबारे आफ्नो धारणा राख्दै उनले टेण्डर प्रक्रिया एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा र एडीबीकै परामर्शदातामार्फत तयार गरिएको जानकारी दिए । उक्त आयोजनासम्बन्धी उजुरीमा मुख्यतः महँगो तथा पुरानो प्रविधिको छनोट, भेन्डर लक–इन तथा अन्तरआवद्धताको समस्या र लागत प्रभावकारिता तथा प्रविधि छनोटको औचित्यमाथि प्रश्न उठाइएको उनले बताए।
श्रेष्ठले आयोजनाको प्राविधिक स्पेसिफिकेसन तयार गर्दा पटक-पटक प्रि-बिड मिटिङ गरिएको र ती बैठकमा उठेका प्रश्न तथा सुझावलाई सम्बोधन गर्दै प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । प्राधिकरणमा समेत उजुरी प्राप्त भएपछि यसबारे आन्तरिक छलफल गर्नुका साथै एडीबीका परामर्शदातासँग पटक-पटक परामर्श गरिएको उनले बताए । उनकाअनुसार यो आयोजना प्राधिकरणको हालको सञ्चार तथा स्काडा सञ्जाललाई उच्च भोल्टेज सबस्टेसनबाट वितरण तह र शाखा कार्यालयसम्म विस्तार गर्ने उद्देश्यले अघि बढाइएको हो ।
यसले अप्टिकल फाइबरमा आधारित सञ्चार पूर्वाधारको विकास गरी इन्टरनेट सेवा प्रदायकलगायत अन्य सेवा प्रदायकका लागि समेत बलियो ब्याकबोन नेटवर्क तयार गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । यसबाट एउटै विद्युत् पोलमा अव्यवस्थित रूपमा विस्तार भएका विभिन्न तारको जञ्जाल कम गर्न र सञ्चार पूर्वाधारलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ । प्राधिकरणले विकास गर्न लागेको डिजिटल पूर्वाधारलाई संस्थागत रूपमा विस्तार गर्ने योजनाअनुसार आयोजना अगाडि बढाइएको उनले बताए ।
महँगो तथा पुरानो प्रविधि छनोट गरिएको भन्ने आरोपबारे स्पष्ट पार्दै श्रेष्ठले प्राधिकरणले हाल प्रयोग गरिरहेको एसडीएच प्रविधिभन्दा एक चरण अगाडि बढेर ओटीएन प्रविधि छनोट गरिएको बताए। उनकाअनुसार ओटीएन प्रविधि हालको एसडीएच प्रणालीसँग अन्तरआवद्धता कायम गर्न सकिने र प्राधिकरणका प्राविधिक जनशक्तिका लागि पनि तुलनात्मक रूपमा सहज हुने भएकाले छनोट गरिएको हो ।
एकैपटक पूर्ण रूपमा नयाँ प्रविधिमा जाँदा विद्यमान संरचना उपयोग गर्न कठिन हुने तथा सञ्चालन र व्यवस्थापनमा समेत चुनौती आउन सक्ने भएकाले चरणबद्ध रूपमा प्रविधि स्तरोन्नति गर्नु उपयुक्त हुने सुझाव परामर्शदाताबाट प्राप्त भएको उनले जानकारी दिए।
भेन्डर लक-इन अर्थात् कुनै एउटा कम्पनीलाई मात्र अनुकूल हुने गरी स्पेसिफिकेसन तयार गरिएको भन्ने आरोप पनि उनले अस्वीकार गरे । उनकाअनुसार आयोजनामा नोकिया, जेडटीई, हुवावे, फाइबरहोम, सिस्को र टेजासलगायतका विभिन्न अन्तर्राष्ट्रिय उत्पादक कम्पनीले उपकरण तथा प्रविधि उपलब्ध गराउन सक्ने अवस्था रहेको छ । त्यसैले टेन्डरका सर्तहरू कुनै एउटा निश्चित कम्पनीलाई लक्षित गरेर तयार नगरिएको उनको दाबी छ ।कार्यकारी निर्देशक श्रेष्ठले भने,‘हाल नेपाल विद्युत् प्राधिकरणको सञ्चार तथा स्काडा सञ्जाल उच्च भोल्टेजका सबस्टेसनसम्म मात्र विस्तार भएको छ । ती सबस्टेसनमा रहेको अप्टिकल फाइबर सञ्जाललाई वितरण तह तथा शाखा तहसम्म विस्तार गर्नु यस आयोजनाको प्रमुख उद्देश्य हो । यसबाट इन्टरनेट सेवा प्रदायक (आईएसपी) लगायतका सेवा प्रदायकहरूलाई आवश्यक सञ्चार पूर्वाधार उपलब्ध गराउन सकिनेछ ।
अहिले घरघरमा इन्टरनेटलगायत विभिन्न सेवा पुर्याउन एउटै विद्युत् पोलमा धेरैवटा तारहरू जथाभावी तानिएका छन् । यस आयोजनामार्फत आवश्यक ठाउँहरूमा ब्याकबोन सञ्चार सञ्जाल विस्तार भएपछि त्यस्ता तारहरूको अव्यवस्थित जञ्जाललाई समेत क्रमशः व्यवस्थित तथा न्यूनीकरण गर्न सहयोग पुग्नेछ । अर्थात्, यस आयोजनाले सञ्चार पूर्वाधारको विकास मात्र नभई डिजिटल पूर्वाधारको विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले संस्थागत रूपमा विकास गरेको डिजिटल कम्पनीमार्फत समेत यस पूर्वाधारलाई विस्तार गर्ने योजनाअनुरूप आयोजना अगाडि बढाइएको हो । साथै, एडीबीले अनुदान सहयोग उपलब्ध गराउने प्रतिवद्धताका साथ यो आयोजना अगाडि बढाइएको हुनाले यसबारे संक्षिप्त जानकारी गराउन चाहन्छु । तर, मैले सरसर्ती भन्नुपर्दा यो आयोजना कुनै एउटा निश्चित बिडरलाई मात्र अनुकूल हुने गरी वा भेन्डर लक–इन हुने किसिमले तयार गरिएको जस्तो देखिँदैन । यस विषयमा हामीले एडीबीका परामर्शदातासँग पटक-पटक छलफल गरेका छौँ ।
अब महँगो तथा पुरानो प्रविधिको छनोट गरिएको भन्ने विषयमा स्पष्ट पार्न चाहन्छु । हाल नेपाल विद्युत् प्राधिकरणले प्रयोग गरिरहेको प्रविधिलाई एसडीएच प्रविधि भनिन्छ । म स्वयं इलेक्ट्रोनिक्स विषयको विद्यार्थी नभएकाले यी प्राविधिक शब्दावली मेरा लागि पनि केही नयाँ छन् । त्यसैले मैले यस विषयमा अध्ययन गरेर नै आज यहाँ जानकारी गराउने प्रयास गरेको छु ।’
लागत प्रभावकारिता र प्रविधि छनोटको औचित्यबारे पनि परामर्शदातासँग विस्तृत छलफल गरिएको उनले बताए । विद्यमान संरचनालाई उपयोग गर्दै क्रमिक रूपमा प्रविधि स्तरोन्नति गर्नु नै उपयुक्त हुने निष्कर्षका आधारमा ओटीएन प्रविधि छनोट गरिएको उनको भनाइ छ । श्रेष्ठले आयोजनासम्बन्धी विषयमा एडीबीसँग समेत पटक-पटक छलफल र अध्ययन भएको जानकारी दिए। विभिन्न चरणमा उठेका चासो तथा प्रश्न एडीबीसमक्ष पठाइएको र एडीबीले समेत अध्ययन गरी आफ्नो धारणा प्रस्तुत गरिसकेको उनले बताए।
आयोजनाको टेण्डर प्रक्रियामा पटक-पटक म्याद थप गरिएको उल्लेख गर्दै उनले हालसम्म सात पटक म्याद थप हुँदा करिव २२३ दिन अर्थात् सात महिना ११ दिन थपिएको जानकारी दिए ।
विभिन्न प्राविधिक विषय, उजुरी तथा सरोकारका विषयमा पर्याप्त छलफल भइसकेको बताउँदै उनले अब आयोजना अगाडि बढाउनु उपयुक्त हुने ठहरसहित बोलपत्रसम्बन्धी प्रक्रिया अघि बढाइएको बताए।






