८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्बाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

अ अ+ अ-

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण र निर्माण प्रक्रियामा गम्भीर असर पारेको छ । कालीगण्डकी र म्याग्दी नदीका साथै तिनका सहायक खोलामा आएको बाढी र पहिरोले निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाका बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन र पहुँच मार्गमा क्षति पुर्‍याएको हो ।

बाढीपहिरोका कारण केही आयोजना पूर्णरूपमा बन्द भएका छन् भने केहीको विद्युत् उत्पादन र परीक्षण प्रभावित भएको छ । निर्माणाधीन आयोजनामा निर्माण सामग्री ढुवानी र उपकरण परिचालन अवरुद्ध हुँदा कामको गति सुस्त भएको छ । यसले आयोजना सम्पन्न हुने अवधि लम्बिने र निर्माण लागत बढ्ने जोखिमसमेत सिर्जना गरेको छ । कालीगण्डकी र म्याग्दीखोला बेसिनमा दर्जनौँ आयोजना निर्माण तथा सञ्चालनमा छन् तर प्राकृतिक विपद्का कारण जलविद्युत् क्षेत्रको उत्पादन संरचना र निर्माण प्रक्रियामाथि परेको पछिल्लो असरले ऊर्जा विकासका लागि भौतिक पूर्वाधारको सुरक्षा र विपद् व्यवस्थापन कति महत्त्वपूर्ण छ भन्ने प्रश्न उठाएको छ ।

अस्थायी टावरबाट विद्युत् आपूर्ति
कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनमा क्षति पुर्‍याएको थियो । अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलमा दुईवटा र रातोपानीमा एउटा टावर बगाएको बाढीले धिरच्याङस्थित टावरमा आंशिक क्षति पुर्‍याएको छ । तिप्ल्याङ क्षेत्रको अर्को टावरसमेत नदी कटानको जोखिममा परेको छ ।

प्रसारण लाइन अवरुद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटे क्षेत्रमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको हो । बाढीबाट क्षतिग्रस्त प्रसारण लाइन र टावरको पुनर्निर्माण प्रक्रिया पनि अघि बढाइएको प्राधिकरणले जनाएको छ । यस प्रसारण लाइनबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला (पाँच मेगावाट), म्रिस्त्रीखोला(४२ मेगावाट), निलगिरी-१ (३८ मेगावाट), निलगिरी–२ (७१ मेगावाट), रेलेखोला (छ मेगावाट) र मुस्ताङको थापाखोला (१४ मेगावाट) आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ ।

दुई आयोजना बन्द, अर्बौँको क्षति
बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा सञ्चालित दुईवटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताए ।

त्यस्तै, साउन २६ गतेको सुक्खा पहिरोले विद्युत् गृह पुरिएपछि प्रभावित बनेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको बाँधमा असोज दोस्रो साताको बाढीपहिरोले थप क्षति पुर्‍याएको छ । विद्युत् गृह पहिरोमा पुरिँदा एकको मृत्यु र एक घाइते भएका थिए । विद्युत् गृहका सबै उपकरण पहिरोमा पुरिएका छन् ।आयोजनाको पुनर्निर्माणको तयारी भइरहेको प्रर्वद्धक म्याग्दी हाइड्रोपावरका कर्मचारी अनिल तिवारीले बताए । उनका अनुसार विपद्का कारण आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

कालीगण्डकी बेसीनका आयोजना निर्माण प्रभावित
कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको काम पनि एक महिनादेखि प्रभावित भएको छ । कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार मुस्ताङको घाँसास्थित थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढी र पहिरोले गेग्रान थुपारेपछि निर्माण कार्य प्रभावित भएको हो । आयोजनाले हालै दुईवटा अडिट सुरुङ खन्ने काम सुरु गरेको थियो ।

मध्यकालीगण्डकी जलविद्युत् आयोजनाका प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार कालीगण्डकी नदीको बाढीले बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्यांक र कार्यशालामा ठूलो क्षति पुर्‍याएको छ । अन्नपूर्ण गाउँपालिका-३ र ४ को सिमानामा पर्ने सुकेबगरस्थित बाँध निर्माणस्थलमा डाइभर्सन भत्काएर पसेको बाढीले गेग्रान थुपारेको छ । सुरुङको अडिटभित्रसमेत बाढी पसेको छ । अन्नपूर्ण गाउँपालिका–२ नागढुंगा र रातोपानीस्थित आवास भवन भत्किनुका साथै त्यहाँ रहेका सामग्री बगाएको छ ।

नौलीबगरस्थित निर्माणाधीन भूमिगत विद्युत् गृहअगाडि रहेको बेनी–जोमसोम-कोरला सडकको मोटरेबल पुलको पोखरेबगरतर्फको पहुँचमार्गसमेत नदीले बगाएको छ । बाढीपहिरोबाट क्षति पुगेपछि निर्माण कार्य रोकिएको सिभिल ठेकेदार रसुवा-मल्टी जेभीका कर्मचारी दिपेन्द्र शर्माले बताए । उनका अनुसार विपद्का कारण आयोजनाको निर्माण अवधि लम्बिने देखिएको छ ।

राहुघाटको परीक्षण अवधि लम्बियो
रघुगंगा गाउँपालिका-३ तिल्केनीचौरस्थित विद्युत् गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्‍याएपछि ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाको टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो । विद्युत्गृहबाट उत्पादनपछि पानी नदीमा पठाउने संरचनामा क्षति पुग्नुका साथै नदीले धार परिवर्तन गरेर स्विचयार्ड नजिकैसम्म कटान गरेको थियो । टेलरेसबाट विद्युत्गृहभित्र पानी पसेर डुबानसमेत भएको थियो ।

असोज पहिलो सातादेखि परीक्षण उत्पादन सुरु गरेको आयोजना बाढीका कारण पूर्णरूपमा बन्द भएको थियो । क्षतिग्रस्त संरचना र उपकरण मर्मत गरी पुन:परीक्षण भइरहेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । उनका अनुसार हाल २०/२० मेगावाट क्षमताका दुईवटा युनिट आलोपालो सञ्चालन गरेर परीक्षण उत्पादन भइरहेको छ । बाँध जोड्ने पहुँचमार्ग मर्मत गर्नुका साथै झिँ र दग्नामको सिमानामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रान हटाइएको छ । बाढीले राहुघाट आयोजनाको विद्युत् गृह क्षेत्रसँगै बेनी-जोमसोम-कोरला सडकको करिब १५० मिटर भागसमेत कटान गरेको छ । स्विचयार्ड उच्च जोखिममा परेको छ भने आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरणसमेत बगाएको छ ।

म्याग्दीखोला बेसिनमा ढुवानीको समस्या
म्याग्दीखोला बेसीनमा निर्माणाधीन जलविद्युत् आयोजनाहरू पनि बाढीपहिरोका कारण प्रभावित भएका छन् । घुमाउने (फापरखेत), बालौटे, बाङ्गेपहिरो र इल्पुमा पहिरो तथा शिवरात्रि खोलामा आएको बाढीका कारण निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । उनका अनुसार असारयता सिमेन्ट, रडलगायत निर्माण सामग्री तथा उपकरण बोकेका सवारीसाधन आयोजना स्थलसम्म पुग्न सकेका छैनन् । मौजुदा सामग्री र उपकरण परिचालन गरेर कामलाई निरन्तरता दिइए पनि अपेक्षित गतिमा निर्माण अघि बढ्न सकेको छैन ।

शिवरात्रि खोलामा पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको मोटरेबल पुल समयमा सम्पन्न नहुँदा वर्षायाममा सवारीसाधन वारपार गर्न समस्या हुने गरेको छ । म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीका अनुसार खोलामा पानीको सतह बढ्ने र पहुँच मार्गमा पहिरो खस्ने समस्याले निर्माण कार्य प्रभावित भएको छ । सामान बोकेका गाडी डोजरको सहायताले तार्ने र पहिरो पन्छाउँदै सवारीसाधन पार गराउनुपर्ने बाध्यता रहेको उनले बताए ।

करिब ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको निर्माणमा पनि असर परेको छ । ३७ मेगावाट क्षमताबाट वृद्धि गरी ४६ दशमलव २५ मेगावाट बनाउने प्रक्रियामा रहेको आयोजनाका प्रमुख रमेश सुवेदीले ठाउँठाउँमा सवारीसाधन परिवर्तन गरेर निर्माण सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहेको बताए। बेनी–दरवाङ र दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत थापाचौर, गौथली र दाचौर भिरमा खसेको पहिरोका कारण निर्माण सामग्री ढुवानी गर्न नसकिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताए।

पूर्वाधारको सुरक्षा र विपद् व्यवस्थापन चुनौती
बाढीपहिरोले म्याग्दीका सबै जलविद्युत् आयोजनामा भने क्षति पुर्‍याएको छैन । राहुघाट करिडोरमा राहुघाटबाहेक अन्य आयोजनाको उत्पादन नियमित छ । तुँदी पावर कम्पनीका ८४ मेगावाट क्षमताका अपर राहुघाट र मङ्गले–चिमखोला–राहुघाट आयोजना तथा २२ दशमलव पाँच मेगावाट क्षमताको अपर ठूलोखोला र २३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको उत्पादन नियमित रहेको छ ।

पछिल्लो विपद्ले जलविद्युत् आयोजनाका बाँध, विद्युत् गृह र सुरुङजस्ता मुख्य संरचना मात्र नभई पहुँचमार्ग, प्रसारण लाइन, निर्माण सामग्री भण्डारणस्थल र आवास संरचनासमेत जोखिममा रहेको देखाएको छ । नदीको धार परिवर्तन, गेग्रान थुप्रिने र पहिरो खस्ने समस्याले आयोजनाको नियमित सञ्चालनदेखि निर्माण कार्यसम्म प्रभावित हुन सक्ने अवस्था छ । जलविद्युत् आयोजना निर्माणमा ठूलो लगानी र लामो समय लाग्ने भएकाले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणलाई निर्माण योजनाकै अभिन्न अंग बनाउनुपर्ने देखिन्छ ।

बाढीपहिरोले उत्पादन अवरुद्ध पार्ने मात्र होइन, निर्माणाधीन आयोजनाको लागत र समय बढाएर समग्र ऊर्जा विकासको लक्ष्यमा समेत असर पुर्‍याउने तथा लगानीमा जोखिम बढाउन सक्छ । नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध, जोखिमयुक्त क्षेत्रमा वैकल्पिक पहुँचमार्ग, प्रसारण लाइनका टावरको संरक्षण र विपद् पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । म्याग्दीमा जलविद्युत् उत्पादनको सम्भावना र लगानी बढ्दै जाँदा त्यससँग सम्बन्धित पूर्वाधारलाई प्राकृतिक विपद्बाट सुरक्षित बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।

0 Comments