९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिनेपा’ स्टुडियो निर्माणका लागि वैकल्पिक डिजाइन र स्थान अध्ययन गर्न सञ्चार मन्त्रीको निर्देशन

स्थानीय बासिन्दाको सरोकार र प्राकृतिक सौन्दर्य संरक्षणलाई सम्बोधन गर्दै चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र स्टुडियो निर्माण थाल्ने सरकारको लक्ष्य छ ।

अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपामा प्रस्तावित चलचित्र छायांकन स्टुडियो ‘सिनेपा’ निर्माणका लागि वैकल्पिक डिजाइन र स्थानबारे पुनः अध्ययन गर्न निर्देशन दिएका छन् ।

बनेपा नगरपालिका-१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा प्रस्तावित निर्माणस्थलको बुधबार निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले वातावरणीय प्रभाव, स्थानीय समुदायको हित र राष्ट्रिय आवश्यकताबिच सन्तुलन कायम गरेर आयोजना अघि बढाउनुपर्ने बताएका हुन् ।

करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको स्टुडियोको प्रारम्भिक डिजाइनअनुसार संरचना निर्माणमा स्थानीयले अवरोध गरेपछि चलचित्र विकास बोर्डले डिजाइन परिवर्तनको आवश्यकताबारे अध्ययन गरिरहेको छ । बोर्डको प्रारम्भिक प्राविधिक अध्ययनअनुसार निर्माणका लागि करिब एक लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

मन्त्री तिमिल्सिनाले ठूलो परिमाणमा माटो कटान गर्दा डाँडाको भौगोलिक बनावट र प्राकृतिक सौन्दर्यमा पर्न सक्ने प्रभावलाई ध्यानमा राखेर निर्माणको विकल्प खोज्न निर्देशन दिएका हुन् ।

“यो ठाउँको प्राकृतिक सौन्दर्य निकै आकर्षक देखियो। तर संरचना निर्माणका लागि डाँडा खार्नुपर्ने अवस्था रहेछ। त्यसले यहाँको प्राकृतिक स्वरूपमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ। सम्भव भएसम्म प्राकृतिक सौन्दर्य जोगाउँदै निर्माण गर्न सकिने विकल्प खोज्नुपर्छ,” उनले भने ।

निरीक्षणका क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले आयोजना कार्यान्वयनमा हालसम्म भएको प्रगति र देखिएका चुनौतीबारे मन्त्री तिमिल्सिनालाई जानकारी गराएका थिए ।

स्थानीय सरोकार सम्बोधन गरेर निर्माण अघि बढाइने
स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा बोर्डका पदाधिकारीसँगको छलफलमा मन्त्री तिमिल्सिनाले राष्ट्रिय महत्त्वका आयोजना अनिश्चित कालसम्म रोकिन नहुने र विकासका नाममा कसैमाथि अन्याय पनि गर्न नहुने बताएका छन् ।

“परियोजना बन्दा कसैलाई अन्याय हुनु हुँदैन। स्थानीय बासिन्दाको भावना र सरोकारलाई सम्मान गर्नुपर्छ। कानुनी प्रक्रिया, स्थानीयको हित र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्छ,” उनले भने ।

स्टुडियो निर्माणलाई भौतिक पूर्वाधारमा मात्रै सीमित नगरी चलचित्र क्षेत्रको विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने उनको धारणा थियो । स्टुडियो सञ्चालनमा आएपछि चलचित्रकर्मी, कलाकार, प्राविधिक तथा पर्यटकको आवागमनसँगै होटेल, यातायातलगायत स्थानीय व्यवसाय विस्तार हुने उनले बताए ।

छलफलमा स्थानीय जनप्रतिनिधिले आयोजना निर्माणमा स्थानीय सरकारको सहयोग रहेको र पहुँचमार्ग निर्माणलगायतका काममा सहजीकरण भइरहेको जानकारी गराएका थिए । उनीहरूले सामुदायिक वन उपभोक्ता समिति र स्थानीय बासिन्दासँग समन्वय गरेर निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

एक वर्षभित्र निर्माण थाल्ने लक्ष्य
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण गर्ने कार्यक्रम समावेश गरेको थियो । सोही कार्यक्रमअन्तर्गत २०८२ वैशाखमा शिलान्यास गरिएको ‘सिनेपा’मा इन्डोर तथा आउटडोर दुवै प्रकारका संरचना निर्माण गर्ने योजना छ ।

स्टुडियोको इन्डोर क्षेत्रमा अस्पताल, प्रहरी चौकी, कारागार तथा ठूला भवनका भित्री दृश्य छायांकन गर्न मिल्ने स्थायी र पोर्टेबल सेट निर्माण गर्ने प्रस्ताव छ ।

आउटडोर क्षेत्रमा नेपाली चलचित्रको इतिहास अध्ययनका लागि चलचित्र सङ्ग्रहालय, पुस्तकालय, पटकथा लेखन तथा निर्देशन कक्षका साथै गोष्ठी, सेमिनार र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सभाहल निर्माण गर्ने योजना छ ।

मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र निर्माण सुरु गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् ।

“मैले संसदमा पनि यो वर्ष चलचित्र स्टुडियो बनाउने प्रतिबद्धता व्यक्त गरिसकेको छु। तर सरकार र बोर्डले चाहेर मात्रै सबै कुरा सम्भव हुँदो रहेनछ। स्थानीय सरकार, स्थानीय बासिन्दा र अन्य सरोकारवाला पक्षको पनि भूमिका हुन्छ। विगतका कमजोरीबाट सिकेर साझा समझदारीका साथ अब कार्यान्वयनमा जानुपर्छ,” उनले भने ।

स्थानीय बासिन्दाका जायज माग र सरोकार सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले आयोजनाबाट स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने गरी संवाद र समझदारी कायम गर्न आग्रह गरेका छन् ।

0 Comments