काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य निष्कल राईले पार्टीको झन्डा र चुनाव चिह्न रुख प्रयोग गरी अन्य पक्षले कार्यक्रम आयोजना गरे त्यसबारे निर्वाचन आयोगले हेर्नुपर्ने बताएका छन् ।
बुधबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै राईले काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गरे । निर्वाचन आयोगले महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गरेको उल्लेख गर्दै उनले सभापति गगनकुमार थापा नेतृत्वको काँग्रेसलाई नै आम नागरिकले चिन्ने गरेको बताए ।
‘अहिले आम देशवासीले नेपाली काँग्रेस भनेर चिनेको सभापति गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस हो नि । यदि त्यसो होइन हाम्रो पार्टीको झण्डा र रुख चिन्ह प्रयोग गरेर कुनै कार्यक्रम आयोजना हुन्छ भने हामीले भन्दा पनि निर्वाचन आयोगले जान्ने कुरा हो ।’ उनले भने ।
राईका अनुसार केन्द्रीय कार्यसमिति बैठकमा आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र ‘काँग्रेस तयार छ’ अभियानलाई गाउँ तथा टोल तहसम्म विस्तार गर्ने विषयमा छलफल भइरहेको छ ।
संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि नागरिकको विश्वास आर्जन गर्नुपर्ने उल्लेख गर्दै उनले काँग्रेसमा आबद्ध हुन चाहने सबैलाई समेटेर पार्टी अघि बढ्ने बताए ।
बैठकमा केन्द्रीय सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक अवस्था, आगामी कार्यदिशा तथा अवलम्बन गर्नुपर्ने नीतिका विषयमा धारणा राखिरहेका छन् ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।






