काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं बागमती प्रदेशका काँग्रेस सभापति ईन्द्र बानियाँलाई अनावश्यक विवादमा मुछ्न खोजेको आरोप लगाएका छन् ।
शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् । महामन्त्री पौडेलले अनुमानको र हल्लाको भरमा कसैलाई दोषी करार गर्न नमिल्ने बताए । तर पछिल्लो समय सरकारले राज्यशक्तिको दुरुपयोग गर्दै राजनीतिक आवद्धताका आधारमा छानिछानी अनुसन्धान र कारबाही गर्ने प्रवृत्ति देखाएको आरोप लगाए ।
कानुनभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै उनले अपराधमा संलग्न जोसुकै व्यक्ति जुनसुकै राजनीतिक दल वा शक्तिसँग आवद्ध भए पनि कानुनी प्रक्रियामा आउनुपर्ने बताए । तर सरकारको विरोधी भएकै आधारमा अपराध नगरेको व्यक्तिलाई जबरजस्ती अनुसन्धानको दायरामा तान्नु र सरकारनिकट व्यक्तिलाई संरक्षण गर्नु राज्यशक्तिको दुरुपयोग भएको उनको भनाई छ । उनले काँग्रेसका प्रदेश सभापति इन्द्र बानियाँमाथि भएको व्यवहारलाई समेत चयनात्मक अनुसन्धान भएको दाबी गरे । उनले प्रधानमन्त्रीको सचिवालय र मुख्य सल्लाकारसँग जोडिएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का अन्त्य प्रकरण तथा हिरासतमा रहेका व्यक्तिको मोबाइल कब्जा प्रकरणमा सरकारले अनुसन्धान नै नगरेको आरोप पनि लगाए ।
उनले हिरासतमा रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएकोप्रति पनि आपत्ति जनाए । हिरासतमा रहेका व्यक्तिलाई अनावश्यक रूपमा दबाब दिएर आफूअनुकुल बयान दिन लगाएको घटना सार्वजनिक भएको उल्लेख गर्दै उनले यस्तो कार्य राज्यशक्तिको गम्भीर दुरुपयोग भएको बताए । सरकारले आफ्ना राजनीतिक विरोधीमाथि कानुन प्रयोग गर्ने र निकटस्थलाई संरक्षण गर्ने नीति लिएको उनको भनाई छ । उनले राज्यका निकायहरूको व्यावसायिक स्वतन्त्रता सुनिश्चित गर्न, अनुसन्धानमा राजनीतिक हस्तक्षेप रोक्न र दोषी देखिएका जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।







