काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सेवा अवरुद्ध हुँदा निश्चित समयभित्र समस्या समाधान गर्ने र ढिलाइ भए ग्राहकलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी ‘ढुक्कको कनेक्सन’ अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत कम्पनीले ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाइफाइ’ र ‘टाइम ब्याक’ गरी तीन ग्राहककेन्द्रित सुविधा सार्वजनिक गरेको हो ।
‘तुरुन्तै’ सुविधाअन्तर्गत २०० एमबीपीएस वा सोभन्दा माथिका इन्टरनेट प्याकेज प्रयोग गर्ने ग्राहकको गुनासो दर्ता भएको दुई घण्टाभित्र समस्या समाधान गर्ने कम्पनीले जनाएको छ । निर्धारित समयभित्र समस्या समाधान नभए ग्राहकलाई दुई दिनको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराइनेछ ।
अपराह्न ४ बजेपछि दर्ता भएका गुनासोमा भने भोलिपल्ट बिहान ७ बजेदेखि उक्त समयसीमा लागू हुनेछ । वर्षाका कारण मर्मत कार्य प्रभावित भए वर्षा रोकिएपछि प्रक्रिया पुनः अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।
त्यसैगरी, सबै ग्राहकले ‘माई वर्ल्डलिंक’ एपमार्फत कम्पनीका वाइफाइ हटस्पटमा सहजै जोडिएर असीमित निःशुल्क इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।
‘टाइम ब्याक’ सुविधाअन्तर्गत ठूलो सङ्ख्यामा ग्राहक प्रभावित हुने गरी निर्धारित समयसीमाभन्दा लामो अवधि इन्टरनेट अवरुद्ध भए एक दिनको अतिरिक्त सेवा उपलब्ध गराइनेछ । यसका लागि ग्राहकले एपमार्फत क्षतिपूर्तिको अनुरोध दर्ता गर्न वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंकले हाल मुलुकका ७४ जिल्लामा सेवा विस्तार गरेको छ । कम्पनीका अनुसार उसका ११ लाखभन्दा बढी फाइबर इन्टरनेट ग्राहक छन् भने इन्टरनेट बजारमा करिब ३५ प्रतिशत हिस्सा रहेको छ ।







