वीरगन्ज, पर्सा । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१४ मा सञ्चालित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सले बीफजन्य खाद्य तथा फिड सामग्रीहरू बिक्री–वितरण नगर्ने प्रतिबद्धता जनाएको छ।
भाटभटेनीका व्यवस्थापक सौरभ शुक्लाले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र वाणिज्य कार्यालयलगायतको संयुक्त टोलीले गरेको अनुगमन तथा निरीक्षणका क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन्।
अनुगमनका क्रममा सो सुपरमार्केटमा “च्युयी स्न्याक बीफ फ्लेभर्ड” लगायतका बीफजन्य खाद्य तथा पशु आहार (फिड) वस्तुहरू बिक्री–वितरण भइरहेको भेटिएको थियो। सोही सन्दर्भमा व्यवस्थापक शुक्लाले अबदेखि कुनै पनि प्रकारका बीफजन्य उत्पादनहरूको बिक्री–वितरण नगर्ने र नेपाल सरकारको प्रचलित ऐन तथा नियमअनुसार व्यवसाय सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएका छन्।
शुक्लाले भनेका छन्, “यदि ऐन–नियमको विपरीत गई कुनै प्रकारको खरिद–विक्री गरेको पाइएमा कानुन बमोजिमको कारबाही सहनेछु।”
स्थानीय उपभोक्ताहरूले बीफजन्य खाद्य तथा पशु आहार (फिड) वस्तुहरू बिक्री–वितरण भइरहेको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए।
पछिल्ला दिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभर अनुगमनलाई तीव्रता दिँदै आएको छ। विशेषगरी चाडपर्वको समयमा खाद्य वस्तुहरूमा हुन सक्ने मिसावट रोक्नका लागि विभाग आक्रामक बनेको विभागले नियमित रूपमा आकस्मिक बजार अनुगमन गर्दै मिसावट भेटिए चेतावनी दिने, सचेत गराउने तथा आवश्यक कानुनी कारबाही गर्ने कार्यसमेत जारी राखेको छ ।
विभागले स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी अनुगमन तथा निरीक्षणका गतिविधिहरू सञ्चालन गर्दै आएको छ।







