वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक अवैध गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि भएको आक्रमणले राज्य संयन्त्रको वास्तविक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। घटनाप्रति प्रतिक्रिया दिँदै रमेश खरेलले सरकार र सुरक्षा निकायको उपस्थिति कागजमा सीमित देखिएको टिप्पणी गरेका छन्।
आदर्शनगर क्षेत्रमा भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले तस्करीको सामान लुकाइएको सूचनाका आधारमा छापा मार्न खोज्दा स्थानीय व्यापारी तथा तस्करको समूहले आक्रमण गरेको थियो। घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीका दुईवटा सवारीसाधनमा समेत क्षति पुगेको छ।
पूर्वडीआईजी खरेलले एक नामुद तस्करको अड्डामा छापा मार्न जाँदा सशस्त्र प्रहरी नै कुटिनु गैरकानुनी गिरोहको बढ्दो प्रभावको स्पष्ट संकेत भएको बताएका छन्। कानुन कार्यान्वयन गर्ने निकाय स्वयं असुरक्षित हुने अवस्थाले सर्वसाधारण नागरिकले न्याय र सुरक्षाको अनुभूति गर्न नसक्ने उनको भनाइ छ।
उनका अनुसार सीमावर्ती क्षेत्रमा तस्करी क्रमशः ‘व्यवसाय’ जस्तै बनेको छ, जहाँ अपराधीहरू राजनीतिक संरक्षणका कारण निडर देखिन्छन् भने राज्य संयन्त्र दबाबमा परेको छ। वर्षौँदेखिको संरक्षण र दण्डहीनताले यस्तो अवस्था सिर्जना भएको भन्दै खरेलले यदि सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरूलाई तत्काल कारबाही नगरे भोलि व्यापारी, पत्रकार र सर्वसाधारण नागरिकसमेत जोखिममा पर्ने चेतावनी दिएका छन्।
यसैबीच, जिल्ला प्रहरी कार्यालयले सशस्त्र प्रहरीमाथि आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। तर खरेलले भने औपचारिक विज्ञप्ति वा सरुवाले मात्र समस्या समाधान नहुने उल्लेख गर्दै राजनीतिक संरक्षणको जालो तोड्न र घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
उनले सीमामा खटिने सुरक्षाकर्मीलाई स्पष्ट आदेश, पर्याप्त स्रोतसाधन र प्रभावकारी सुरक्षा उपलब्ध गराई कानुनको शासन कागजमा होइन, व्यवहारमा देखाउनुपर्नेमा जोड दिएका छन्। नत्र राज्यप्रति नागरिकको विश्वास थप कमजोर हुँदै जाने उनको ठम्याइ छ।







