काठमाडौँ । भारत सरकारले नेपालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोप्रति बधाई व्यक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले जारी गरेको वक्तव्यमा नेपाली नागरिकहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोप्रति प्रशंसा गरिएको छ।
वक्तव्यमा प्रधानमन्त्री सुशीला कार्की सहित नेपाल सरकार, नेपाली जनता तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित सबै सरोकारवालालाई विशेष परिस्थितिका बीच निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरिएको उल्लेख गरिएको छ।
भारतले नेपालमा शान्ति, स्थायित्व र विकासको प्रक्रियालाई सधैं समर्थन गर्दै आएको जनाउँदै नेपाल सरकारको अनुरोधअनुसार यस निर्वाचनका लागि आवश्यक लजिस्टिक सामग्री उपलब्ध गराइएको जानकारी पनि वक्तव्यमा समावेश गरिएको छ।
आगामी दिनमा गठन हुने नयाँ सरकारसँग सहकार्य गर्दै दुई देश र जनताबीचको बहुआयामिक तथा सुदृढ सम्बन्धलाई पारस्परिक हितका आधारमा अझ मजबुत बनाउँदै लैजान भारत तत्पर रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।







