काठमाडौँ । विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा कार्यरत ३६ जना नेपाली चिकित्सकहरूको दर्ता तथा लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघ ले गम्भीर आपत्ति जनाएको छ ।
संघले उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको व्यावसायिक भविष्य मात्र होइन, विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको आत्मविश्वास र मनोबलमा समेत नकारात्मक असर पारेको निष्कर्ष निकालेको छ ।
संघका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी वक्तव्यमा नेपालको संविधानले गैरआवासीय नेपालीको अधिकारलाई मान्यता दिएको अवस्थामा बसोबासको आधारमा चिकित्सकहरूको पेशागत पहिचानमाथि प्रश्न उठाउने वा अधिकार सीमित गर्ने कदम उचित नहुने उल्लेख गरिएको छ ।
वक्तव्यमा चिकित्सा क्षेत्र मानव सेवासँग प्रत्यक्ष सम्बन्धित भएकाले यस्ता निर्णयहरू गर्दा पूर्वपरामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अनिवार्य हुने आवश्यकता औँल्याइएको छ । सम्बन्धित चिकित्सकहरूलाई जानकारी, संवाद वा समन्वय नगरी गरिएको निर्णयप्रति संघले असन्तुष्टि जनाएको छ ।
सरकारले सीप र ज्ञानको प्रवाहलाई प्रोत्साहन गर्ने नीति अघि सारेको सन्दर्भमा दक्ष चिकित्सकहरूलाई नै निरुत्साहित गर्ने निर्णय विरोधा भासी हुने भन्दै संघले पुनर्विचारको माग गरेको छ ।
त्यस्तै “एक पटक नेपाली, सधैँ नेपाली” भन्ने भावनालाई व्यवहारमा उतार्दै डायस्पोराको योगदानलाई सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ ।
संघले सम्बन्धित निकायबाट निर्णय पुनः मुल्यांकन हुने अपेक्षा गर्दै विषयलाई गम्भीरतापूर्वक लिन पुनः ध्यानाकर्षण गराएको जनाएको छ ।







