काठमाडौं । सरकारले रोगको उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण तथा स्वस्थ जीवनशैलीमा आधारित स्वास्थ्य रणनीति कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ । साथै, योग, ध्यान तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्रवर्द्धन गरिने पनि उल्लेख गरिएको छ ।
त्यसैगरी, अत्याधुनिक पुनःस्थापना केन्द्र स्थापना गरी प्रोसथेटिक्स, फिजियोथेरापीलगायत विशिष्टीकृत सेवा उपलब्ध गराइने सरकारको नीति छ ।
अपाङ्गताको प्रारम्भिक पहिचान, शीघ्र हस्तक्षेप तथा पुनःस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसँग आबद्ध गर्दै दिगोपन र पहुँच विस्तार गरिने पनि सरकारले जनाएको छ ।
यस्तै, बहुआयामिक अपाङ्गता भएका बालबालिकाका लागि सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।







