ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले नेपाललाई योग, ध्यान, अध्यात्म र मौलिक ज्ञान प्रणालीसँग जोडिएको देशका रूपमा स्थापित गर्दै आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उनले नेपालमा आरोग्य वर्ष-२०२७ तथा आरोग्य पर्यटन रणनीति कार्यान्वयनको चरण सुरु भइसकेको सन्दर्भमा बहु क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित ‘आरोग्य संवाद : आरोग्य वर्ष-२०२७ पूर्व तयारी विमर्श’ कार्यक्रममा मन्त्री पौडेलले नेपाललाई योग र ध्यानसँग जोडिएको ऐतिहासिक तथा सांस्कृतिक आधार भएको देशका रूपमा प्रस्तुत गर्दै यसलाई आरोग्य अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्ने बताए ।

उनले आरोग्यलाई केवल शारीरिक स्वास्थ्यको विषयका रूपमा नभई मानसिक, सामाजिक र वातावरणीय आयामसँग जोडेर हेर्नुपर्ने उल्लेख गरे । “नेपाल योगको जन्मदाता भएको भूमि हो, ध्यान र अध्यात्मका महत्वपूर्ण आधारहरू जन्माउने देश हो,” भन्दै उनले स्थानीय ज्ञान, समुदायगत अभ्यास तथा मौलिक संस्कृतिलाई आरोग्य पर्यटनसँग जोड्न सकिने बताए ।
कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव तथा जीवन विज्ञान आरोग्य अध्ययन केन्द्रका संयोजक डा. बैकुण्ठ अर्यालले संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा स्वीकार गरिसकेको सन्दर्भमा अब आरोग्य अवधारणालाई नीति, कार्यक्रम र कार्यान्वयन तहमा विस्तार गर्नुपर्ने बताए ।

उनले सरकारले ‘नेपाल वेलनेस इयर-२०२७’ घोषणा गरिसकेको र आरोग्य पर्यटन रणनीति (२०२६-२०३५) तथा कार्ययोजना (२०२६-२०३०) स्वीकृत भइसकेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकाय, निजी क्षेत्र र सरोकारवालाबीच साझा समझदारी आवश्यक रहेको बताए । आरोग्यलाई शारीरिक, मानसिक, सामाजिक, वातावरणीय र आत्मिक सन्तुलनसँग जोडिएको बहुआयामिक अवधारणाका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।
संवादमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले आरोग्य पर्यटन रणनीति स्वीकृत भइसकेको र कार्यान्वयन चरणमा प्रवेश गरिसकेको जानकारी दिए । उनले आगामी बजेट तथा कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, परराष्ट्र लगायत मन्त्रालयसँग समन्वय गरी कार्यक्रम अघि बढाइने बताए ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य प्रणाली उपचारमुखी ढाँचाबाट रोकथाम तथा आरोग्य प्रवर्द्धनतर्फ रूपान्तरण भइरहेको बताए । उनले नसर्ने रोगको बढ्दो भारलाई दृष्टिगत गर्दै उपचारभन्दा रोकथाम, जीवनशैली सुधार र समुदाय स्तरको आरोग्य प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताए ।

देवकोटाले स्वास्थ्य प्रणालीका पाँच आयाम-उपचार, रोग रोकथाम, स्वास्थ्य प्रवर्द्धन, पुन:स्थापना तथा अन्तिम चरणको स्याहारमध्ये आरोग्य अवधारणा प्रत्यक्ष रूपमा रोकथाम, प्रवर्द्धन र पुन:स्थापनासँग जोडिएको बताए । “हामी अहिले ‘इलनेस म्यानेजमेन्ट’ अर्थात् रोग व्यवस्थापनबाट ‘वेलनेस प्रमोसन’ अर्थात् रोग लाग्न नदिने अवस्थातर्फ सर्दैछौं,” उनले भने ।
उनले नसर्ने रोगको भार स्वास्थ्य प्रणालीमा तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै अहिले अस्पतालका अधिकांश बिरामी यस्तै रोगसँग सम्बन्धित रहेको बताए । “नसर्ने रोगका कारक तत्वमध्ये ठूलो हिस्सा स्वास्थ्य क्षेत्रभन्दा बाहिर छन्, त्यसैले आरोग्यलाई सबै क्षेत्रसँग जोड्नुपर्छ,” उनले भने ।
देवकोटाका अनुसार मन्त्रालयले ‘नागरिक आरोग्य कार्यक्रम’ विस्तार गर्दै स्थानीय तहसम्म समुदायमा आधारित आरोग्य अभ्यास प्रवर्द्धन, खाद्य सुरक्षा, जडीबुटी प्रशोधन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम अघि बढाउने तयारी गरिरहेको छ । “सामान्य व्यायामदेखि खाद्य प्रशोधन र जडीबुटी केन्द्रसम्मका कार्यक्रममार्फत आरोग्यलाई व्यवहारमा उतार्ने तयारी छ,” उनले भने ।
कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले आरोग्य अवधारणाको ठूलो हिस्सा कृषि, खाद्य प्रणाली, वन र वातावरणसँग जोडिएको बताए । उनले विषादी न्यूनीकरण, सुरक्षित खाद्य उत्पादन, स्थानीय उत्पादन प्रवर्द्धन तथा ग्रामीण अनुभवमा आधारित गतिविधिलाई आरोग्य पर्यटनसँग जोड्ने प्रयास भइरहेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्माले अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा नेपालको कूटनीतिक उपलब्धि भएको बताए । उनले संयुक्त राष्ट्रसंघमा प्रस्ताव स्वीकृत भएपछि विदेशस्थित नेपाली नियोगमार्फत आरोग्य दिवस मनाइएको र यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने काम भइरहेको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले आरोग्य वर्ष-२०२७ सफल बनाउन निजी क्षेत्रको सहभागिता निर्णायक हुने बताए । उनले सरकारले घोषणा गरेपछि निजी क्षेत्र औपचारिक रूपमा जानकारीमा रहे पनि महासंघमा नयाँ नेतृत्व आएकाले विषयमा विस्तृत आन्तरिक छलफल हुन बाँकी रहेको बताए ।

“सरकारले जनताको सुख, स्वास्थ्य र समृद्धिलाई केन्द्रमा राखेर आरोग्य वर्ष घोषणा गरेको देखिन्छ । यसलाई सफल बनाउन कार्यान्वयन पक्षमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ,” उनले भने ।
श्रेष्ठले नेपालको अर्थतन्त्र, लगानी र रोजगारीमा निजी क्षेत्रको योगदान उल्लेख गर्दै आरोग्य अर्थतन्त्रको कार्यान्वयन पनि सार्वजनिक-निजी साझेदारीबाट मात्रै सम्भव हुने बताए । “अर्थतन्त्रमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत छ । त्यसैले कार्यान्वयनको पक्ष निजी क्षेत्रसँग प्रत्यक्ष जोडिन्छ,” उनले भने ।
उनले सरकारले नियामक, सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गर्ने तथा निजी क्षेत्रले लगानी, सेवा विस्तार र नवप्रवर्तनमार्फत आरोग्य पर्यटनलाई व्यवहारमा उतार्नुपर्ने बताए । उनका अनुसार आरोग्य पर्यटनले स्वास्थ्य, सेवा, आतिथ्य, कृषि र पर्यटन क्षेत्रलाई एउटै आर्थिक शृंखलामा जोड्ने सम्भावना बोकेको छ ।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक तथा अन्तर्राष्ट्रिय गुरु भानु गुरुदेवले विश्व पर्यटन क्रमशः ‘वेलनेस टुरिजम’ तर्फ रूपान्तरण भइरहेको बताए । उनका अनुसार स्वास्थ्य, ट्रेकिङ, धार्मिक, सांस्कृतिक, योग, ध्यान, प्रकृति, उपचार तथा आध्यात्मिक पर्यटनका विभिन्न आयाम आरोग्य पर्यटनभित्र समेटिन्छन् ।

“वेलनेस टुरिस्टहरूले अरू पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्छन्,” भन्दै उनले आरोग्य पर्यटनलाई नेपालको आर्थिक रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने बताए । गण्डकी र लुम्बिनी प्रदेशलाई नमुना आरोग्य प्रदेशका रूपमा विकास गर्ने सम्भावना रहेको पनि उनले उल्लेख गरे ।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक रमेश गुरुदेवले आरोग्यलाई जीवनशैली, व्यवहार र सामाजिक अभ्याससँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
संवादमा सहभागीहरूले आरोग्य वर्ष-२०२७ कार्यान्वयनका लागि योग तथा ध्यान प्रवर्द्धन, स्थानीय ज्ञान प्रणाली संरक्षण, जैविक कृषि, ग्रामीण पर्यटन, आरोग्य शिक्षा तथा अन्तर्राष्ट्रिय प्रचारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।







