मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस एवं प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्यमा पदमा विराटनगर-३, मोरङकी रूपा थापा ओझा र उर्लाबारी-५, मोरङका भीमबहादुर सुब्बा (फुदोङ) लाई नियुक्त गरेका हुन् ।
त्यसैगरी आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त सदस्यलाई आजै प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (८) बमोजिम सदस्य पदमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू, प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरूका उपस्थिति रहेको थियो ।







