काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी भनाइप्रति प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कडा आपत्ति जनाएको छ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सच्याउनुपर्ने र त्यसका लागि सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।
उनले संवैधानिक मर्यादा र राष्ट्रिय हित विपरीत जाने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने चेतावनीसमेत दिए। महरका अनुसार प्रधानमन्त्रीले नेपालले भारततर्फ पनि भूमि अतिक्रमण गरेको आशय व्यक्त गर्नु गम्भीर र अस्वीकार्य विषय हो।
एमालेका प्रमुख सचेतकले उक्त भनाइले राष्ट्रिय सम्मानमा आँच पुर्याएको उल्लेख गर्दै यसले नागरिकमा गलत सन्देश प्रवाह भएको दाबी गरे। उनका अनुसार यस्ता विषयमा सरकारको नेतृत्वले थप संवेदनशील र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने आवश्यकता छ।







