काठमाडौँ । विद्युतीय सवारी (इभी) आयात प्रकरणमा अनुसन्धान जारी रहेका बेला सरकारले भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीलाई अर्थ मन्त्रालय तानेको छ। विभागका उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ।
इभी आयात प्रकरणमा प्रमुख भन्सार अधिकृत (उपसचिव) सहित एक दर्जनभन्दा बढी कर्मचारी निलम्बन भएपछि विभागीय नेतृत्वमाथि नैतिक दबाब बढेको थियो। सोही क्रममा महानिर्देशक भण्डारीलाई मन्त्रालय तानेर विभागको नेतृत्व परिवर्तन गरिएको मन्त्रालय प्रशासन स्रोतले जानकारी दिएको छ ।
सरकारले पछिल्लो समय राजस्व प्रशासनलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यसहित भन्सार, आन्तरिक राजस्वलगायत संवेदनशील निकायमा निगरानी बढाएको जनाइँदै आइएको छ। विगतदेखि नै मालदार अड्डाका रूपमा परिचित यस्ता निकायमा नेता-व्यापारी-बिचौलिया-कर्मचारीबीचको मिलेमतोका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको चर्चा भइरहेका बेला सुधारका विभिन्न प्रयास अघि बढाइएको सरकारी अधिकारीहरूको भनाइ छ।
यसैबीच अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका ३० जना शाखा अधिकृतको पदस्थापन पनि गरेको छ। निर्णयअनुसार सन्देश धिमिरे, लक्ष्मण शाही, मिन्टु धमला, निरज खनाल र हिमाल शर्मा भुषाललाई आन्तरिक राजस्व विभाग वा अन्तर्गत खटाइएको छ।
त्यसैगरी केशव रिजाल, अर्जुन गिरी, श्रद्धा सुवेदी, दिपेन्द्र रेग्मी, विष्णु खड्का, दिवाकर कर्ण, समुन्द्र सुवेदी, समिर लम्साल, सुदीप चापागाई, दीपेश साउद, सन्देश खनाल, सुमन खड्का, भरत खड्का, अनिता पौडेल, कामना भण्डारी, तारा लिम्बु इजम, पवित्रा राना, राकेश कुमार महरा, नवीन शर्मा, शमिम आलम, सपना सुर्यवंशी, सागर खवास, तारामणी डगौरा, हिमाल घर्तिमगर र बलबहादुर विकलाई भन्सार विभाग वा अन्तर्गत पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै, राजस्व अनुसन्धान विभाग खारेजीको तयारीसँगै त्यहाँ कार्यरत १० जना कर्मचारीलाई भन्सार विभाग तथा आन्तरिक राजस्व विभागमा काजमा खटाइएको मन्त्रालय स्रोतले जनाएको छ।
राजस्व प्रशासनभित्रको पछिल्लो हेरफेरलाई इभी आयात प्रकरणपछि सुरु गरिएको आन्तरिक सुधार अभियानको निरन्तरताका रूपमा समेत हेरिएको छ। भन्सार प्रशासनमा भइरहेको अनुसन्धान, कर्मचारी व्यवस्थापन तथा संरचनागत पुनर्संयोजनले आगामी दिनमा राजस्व प्रशासनको कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले चासोका रूपमा हेरिएको छ।






