काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ ।
मंगलवार बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले यस्तो जानकारी गराएकी हुन् । उनले अगामी साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने र उजुरीउपर छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने बताइन् । सहकारी बचत फिर्तालाई सरकारले निरन्तरता दिएर अघि बढ्ने पनि बताइन् ।
उनले भनिन्, ‘सहकारी बचत फिर्तालाई प्रदेश सरकारले निरन्तरता दिएर अगाडि बढ्नेछ । त्यस कारण सबै सहकारी पीडित नागरिकलाई धैर्य भएर बसिदिनको लागि अनुरोध गर्न चाहन्छौँ । अब हामीले समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत नै उजुरी दिने व्यवस्था गर्दछौँ । अगामी साउन १ गतेदेखि अनलाइनमार्फत नै उजुरी दिने व्यवस्था गर्दछौँ । अनलाइनमार्फत उजुरी दिएपछि त्यसको आवश्यक अध्ययन गरी पीडितलाई वचत रकम फिर्ता पाउनुहुनेछ ।’
उनले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरिने समेत जानकारी दिइन् ।







