काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै मन्त्रालयका सचिवहरूलाई स्पष्ट योजना र लक्ष्यसहित काम गर्न निर्देशन दिएका छन्।
आर्थिक वर्ष २०८३-८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी अर्थ मन्त्रालयमा आयोजित बैठकमा उनले पुँजीगत खर्च बढाउने र राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी मन्त्रालयगत रूपमा ठोस कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिएका हुन्।
अर्थमन्त्री वाग्लेले विगतमा पुँजीगत खर्च न्यून हुने र राजस्व संकलन अपेक्षित रूपमा हुन नसक्ने अवस्था देखिएको उल्लेख गर्दै अब त्यस्तो अवस्था दोहोरिन नहुने बताए।
उनले नयाँ बजेट सरकारको दीर्घकालीन आर्थिक मार्गचित्रको प्रारम्भिक चरण भएकाले यसको सफल कार्यान्वयनका लागि प्रशासनिक नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
बैठकमा अर्थमन्त्रीले चालु बजेटमा कम्तीमा ८० प्रतिशत पुँजीगत खर्च सुनिश्चित गर्ने तथा १६ खर्ब रुपैयाँको राजस्व संकलन लक्ष्य हासिल गर्ने गरी काम गर्न सचिवहरूलाई आग्रह गरे।
बजेट कार्यान्वयनका क्रममा देखिने कानुनी तथा व्यवहारिक अवरोधबारे समयमै जानकारी गराउन र समाधानका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्न पनि उनले निर्देशन दिए।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि रकमान्तर तथा अवण्डा बजेट व्यवस्थापनसम्बन्धी केही अधिकार सम्बन्धित मन्त्रालयलाई प्रदान गरेको जानकारी दिँदै त्यसको प्रभावकारी उपयोग गर्न समेत अर्थमन्त्री वाग्लेले आग्रह गरेका छन्।







