काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताएका छन् ।
वीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधवार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन र बिपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।
सभापति थापाले वीपी कोइरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास गरेको स्मरण गरे । विकासको अवधारणाबारे चर्चा गर्दै उनले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी विनाको विकास अर्थहीन हुने उल्लेख गरे। वीपी कोइरालाले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको स्मरण गर्दै थापाले ती दूरदर्शी विचारहरूलाई वर्तमान समयमा पनि आत्मसात् गर्नुपर्ने बताए।
पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै सभापति थापाले आजको नेपाली काँग्रेस भविष्यप्रति आशावादी रहेको तर भविष्यको मार्ग कोर्न इतिहासबाट सिक्न जरुरी रहेको बताए।
अग्रजहरूले देखाएको बाटो र उहाँहरूका विचारलाई आधार मानेर जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्न प्रतिवद्ध रहेको बताए।
सभापति थापाले भने, ‘आज हामीले जननायक वीपी कोइरालालाई जलवायु परिवर्तनसँग जोडेर सम्झियौँ । अघि तपाईँहरूले पक्कै पनि हाम्रा प्यानेलिस्टहरूले भन्नुभएको कुरा सुन्नुभयो । वीपी कोइरालाले ‘जलवायु परिवर्तन’ भन्ने शब्द प्रयोग गर्नुभएको थियो वा थिएन, त्यो छुट्टै कुरा हो । तर के वीपी कोइरालाले समावेशी भन्ने शब्द प्रयोग गर्नुभएको थियो रु त्यो पनि थिएन । आज हामी दलितको समावेशिताको कुरा गरिरहेका छौँ, महिलाको समावेशिताको कुरा गरिरहेका छौँ । तर दक्षिण एसियामै कुनै महिलाले सरकारमा सहभागिता जनाउने अवसर प्राप्त नगर्दै गर्दा आफ्नै मन्त्रिमण्डलमा महिलालाई सहभागी गराएर, दलित समुदायका प्रतिनिधिलाई पार्टीको महामन्त्री बनाएर तथा सबै जातजाति र भाषाभाषीलाई समेटेर संसद र मन्त्रिमण्डल गठन गरी बिपी कोइरालाले त्यही बेला नेपालको लोकतन्त्र समावेशी नभईकन अगाडि बढ्यो भने त्यो लोकतन्त्र पूर्ण हुँदैन भन्ने कुरा हामीलाई सिकाउनु भयो । त्यसैगरी विकासका मुद्दाका सन्दर्भमा पनि अघि यहाँ भएको चर्चा म सुनिरहेको थिएँ । जब तपाईँ विकासको कुरा गर्नुहुन्छ, त्यहाँ सामाजिक न्यायलाई छोड्नुभयो भने, मानव कल्याणलाई छोड्नुभयो भने, लोक कल्याणलाई छोड्नुभयो भने, नैतिक अधिकार र नैतिक जिम्मेवारीका विषयलाई छोड्नुभयो भने, दूरदर्शिताको विषयलाई छोड्नुभयो भने, तथा विकास दिगो हुन्छ कि हुँदैन भन्ने प्रश्नलाई बेवास्ता गर्नुभयो भने, त्यस्तो विकासको कुनै अर्थ हुँदैन । धेरै वर्षअघि नै विकासका बारेमा बिपी कोइरालाले चर्चा मात्र गर्नुभएन, आफैँ अभ्यास पनि गर्नुभयो । वीपी कोइरालाको पालामा वनको राष्ट्रियकरण गर्नुपर्छ, प्राकृतिक स्रोतहरू–चाहे वन होस् वा भूमि–माथि न्याय हुनुपर्छ, तिनलाई न्यायको दृष्टिले हेर्नुपर्छ भन्ने सोच विकसित गरिएको थियो । तर हामी बिपीका अनुयायीहरूले धेरै पछि विकासको प्रतिस्पर्धामा लागिरहँदा ती विषयहरू बिर्सियौँ । आज नेपाली काँग्रेस अगाडि हेर्न चाहन्छ । आज यहाँ उपस्थित सबै साथीहरू भविष्यप्रति र नेपाली काँग्रेसप्रति विश्वास लिएर आउनुभएको छ । तर भविष्यतर्फ पाइला चाल्दै गर्दा हामीलाई थाहा छ, वर्तमानमा इमानदार हुनुपर्छ। र सिक्नका निम्ति हामीले विगततर्फ फर्केर पनि सिक्नुपर्छ । हाम्रा अग्रजहरूले देखाउनुभएका मार्ग र विचारबाट धेरै कुरा सिक्न बाँकी छ । जलवायु परिवर्तनको विषयलाई हामी नेपालको विकासको एउटा मूल विषय बनाउन चाहन्छौँ । त्यसका निम्ति हामी आफ्नै अग्रजहरूले हिजो राख्नुभएका विचार र गर्नुभएका निर्णयहरूलाई एकपटक फेरि फर्केर हेर्न चाहन्छौँ । यही सोचका साथ जननायक विपी कोइरालाको स्मृति दिवसका अवसरमा आज युवा साथीहरू तथा आ–आफ्नो क्षेत्रमा अनुभव प्राप्त गर्नुभएका विज्ञ साथीहरूलाई बोलाएर छलफल गर्यौं । यस छलफलबाट पार्टीले धेरै ज्ञान र अनुभव प्राप्त गरेको छ । यी विषयहरूलाई हामी उपयुक्त समयमा उपयुक्त ठाउँमा उठाउँदै पनि जानेछौँ र व्यवहारमा पनि कार्यान्वयन गर्दै जानेछौँ ।’
सभापति थापाले प्राप्त सुझाव र ज्ञानलाई पार्टीले नीतिगत तहमा उपयोग गर्दै लैजाने समेत प्रतिबद्धता जनाए ।







