काठमाडौँ। नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र एकता कायम गर्न सभापति गगनकुमार थापाले साहसिक र खुला पहल गर्नुपर्ने बताएका छन्।
४४औँ बीपी स्मृति दिवसका अवसरमा काठमाडौँस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा राखे।
उनले सभापति थापालाई कुनै आग्रह वा दबाबमा नपरी सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरे। काँग्रेसलाई जोड्ने उद्देश्यका साथ निर्णय लिन र एकताको वातावरण बनाउन नेतृत्वले दृढता देखाउनुपर्ने उनको भनाइ थियो।
सिटौलाले आफूहरू पार्टीभित्र कुनै प्रकारको छलकपट नगरेको दाबी गर्दै आगामी दिनमा राष्ट्रिय भेला आयोजना गरी नयाँ कार्यदिशाबारे छलफल गर्ने जानकारी दिए।
उनले पार्टीको भविष्य र आगामी रणनीतिबारे स्पष्ट धारणा सार्वजनिक गरिने उल्लेख गर्दै आफूहरूले उठाएका विषय खुला रूपमा राखिरहेको बताए।
नेता सिटौलाले काँग्रेसलाई बलियो बनाउन संवाद, एकता र स्पष्ट राजनीतिक दिशाको आवश्यकता रहेकोमा जोड दिए।







