काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका हुन् ।
सहसंयोजक नेपालले कम्युनिष्ट आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक भएको उल्लेख गरे। आजको अवस्थामा आइपुग्दा केही धक्का खानुपरेको तर घोडाबाट लडेपछि जिउको धुलो टक्टक्याएर पुनः नयाँ उत्साहका साथ अगाडि बढेझैँ कम्युनिष्ट आन्दोलन पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
पूर्व प्रधानमन्त्री नेपालले इतिहासका महत्त्वपूर्ण घटनाक्रम र दस्ताबेजहरूको संरक्षण गर्नुपर्नेमा विशेष जोड दिए। उनले जेन–जी आन्दोलनका क्रममा आफूहरूको घरमा आगलागी हुँदा महत्त्वपूर्ण अभिलेखहरू नष्ट भएको स्मरण गरे ।
सहसंयोजक नेपालले भने, ‘नरबहादुर कर्माचार्यसँग जोडिएका धेरै स्मृतिहरू र ऐतिहासिक सामग्रीहरू सम्भवतः यस प्रतिष्ठानले संकलन र प्रकाशन गरेको पनि होला । उहाँसँग सम्बन्धित अभिलेखहरू पनि सुरक्षित रूपमा राखिएका होलान् । मेरो आग्रह के हो भने इतिहासका ती महत्त्वपूर्ण घटनाक्रमहरू अवश्य पनि सुरक्षित राखिनुपर्छ । मैले पनि धेरै सामग्रीहरू सुरक्षित राख्ने गरेको थिएँ ।
तर तीमध्ये धेरै जलाइए, केही बाँकी रहे। हाम्रो प्रचण्ड कमाण्डसँग सम्बन्धित सामग्री त सबैजसो जलाइएछन् । मेरो हकमा भने परिवारका सदस्य र छिमेकीहरूले ठूलो जोखिम मोलेर केही सामग्री जोगाइदिएका कारण अहिले पनि फेला परेका छन् । केही आधा जलेका छन्, केही पूर्ण रूपमा जलेका छन्, केही एक चौथाइ मात्र बाँकी छन् । तर ती नोटहरू अझै पनि उपलब्ध छन् । इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका यिनै योद्धाहरूका कारण इतिहास अगाडि बढ्यो । इतिहासले नयाँ–नयाँ मोड लियो र नयाँ कीर्तिमानहरू स्थापित भए । वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि, त्यसमाथि प्रतिबन्ध लाग्दा पनि पार्टीलाई जीवन्त राख्ने प्रयास जारी रह्यो । त्यस क्रममा नरबहादुर कर्माचार्यलाई मजदुर आन्दोलनको जिम्मेवारी दिइएको थियो । उहाँले मजदुर आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारी सम्हाल्नुभयो । त्यसैगरी कसैलाई किसान आन्दोलनको, कसैलाई महिला फाँटको जिम्मेवारी दिइएको थियो । ती सबै एकसेएक समर्पित योद्धाहरू त्यतिबेला सक्रिय रहेकाले नै कम्युनिष्ट आन्दोलन निरन्तर अगाडि बढ्न सफल भयो । आज हामी एउटा यस्तो अवस्थामा आइपुगेका छौँ जहाँ केही धक्का अवश्य पनि खेप्नुपरेको छ । तर घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटकाएर फेरि उठेर अघि बढेजस्तै, हामीले पनि यी कठिनाइहरूबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’
नरबहादुर कर्माचार्यको योगदानको चर्चा गर्दै नेता नेपालले वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि प्रतिबन्धित कालखण्डमा समेत पार्टीलाई जीवन्त तुल्याउन कर्माचार्यले खेलेको भूमिका अविस्मरणीय रहेको बताए ।
विशेषगरी मजदुर आन्दोलनलाई उचाइमा पुर्याउन कर्माचार्यले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको उनले प्रशंसा गरे । इतिहासका विभिन्न मोडमा योद्धा र नेताहरूले पुर्याएको योगदानकै कारण कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले ती कीर्तिमानहरूलाई संस्थागत गर्नुपर्ने बताए।






