काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ स्थित थानाभर्याङ क्षेत्रमा एक पुरुष मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ।
प्रहरीका अनुसार यातायात व्यवस्था कार्यालय नजिक शव फेला परेको हो। घटनास्थल आसपास रगतसमेत देखिएकाले घटनाको प्रकृतिबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ। यसका लागि प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा मृतकको पहिचान मकवानपुरको साविक चित्लाङ गाविस-६, हाल थाहा नगरपालिका-१० निवासी ४१ वर्षीय आश्मान गोपालीका रूपमा भएको छ। उनी रामबहादुर गोपालीका छोरा रहेको प्रहरीले जनाएको छ। घटनाबारे मृतकका परिवारलाई समेत जानकारी गराइसकिएको छ।
यसैबीच आइतबार बिहान करिब ८:३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेर प्रमाण संकलन तथा अनुसन्धानमा सहयोग गरिरहेको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण अझै खुल्न बाँकी रहेको छ। घटनासम्बन्धी सबै पक्षको अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ।






