काठमाडौँ । नेपाल चिकित्सक संघले आफ्नो आन्दोलनलाई निरन्तरता दिँदै बुधबार पनि देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द रहने जनाएको छ।
मंगलबार साँझ बसेको संघको आकस्मिक बैठकले आन्दोलनका कार्यक्रमलाई अर्को दिन पनि निरन्तरता दिने निर्णय गरेको हो। निर्णय सार्वजनिक गर्दै संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडमा संलग्न व्यक्तिमाथि प्रभावकारी कानुनी कारबाही हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ।
संघका अनुसार बुधबार काठमाडौँ उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मी माइतीघरमा भेला भएर विरोध प्रदर्शन गर्नेछन्। त्यस्तै, उपत्यकाबाहिर कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै आफ्नै कार्यस्थलमा विरोध कार्यक्रम सञ्चालन गर्नेछन्।
नेपाल चिकित्सक संघले घटनाको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने काम अघि नबढेको दाबी गरेको छ। साथै, न्यायको माग गर्दै गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको आरोपसमेत संघले लगाएको छ।
संघले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हुने हिंसाका घटनामा प्रभावकारी कानुनी कारबाही र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग पुनः माग गरेको छ।






