काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको पछिल्लो घटनापछि उत्पन्न सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन् ।
प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी घटनाको अवस्था, सुरक्षा चुनौती र आगामी रणनीतिबारे छलफल गरेका हुन् ।
भेटका क्रममा सुरक्षा प्रमुखहरूले सुनसरीको पछिल्लो अवस्था, सुरक्षा व्यवस्थापन तथा सम्भावित जोखिमका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री शाहले जिल्लाको शान्ति-सुरक्षा अवस्था सामान्य बनाउन प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् । उनले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भावमा असर पार्ने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न हुन सक्ने पक्षमाथि निगरानी बढाउन सुरक्षा संयन्त्रलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले शान्ति व्यवस्था कायम गर्ने विषयमा कुनै किसिमको कमजोरी नगर्न निर्देशन दिँदै गृह मन्त्रालयअन्तर्गतका सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न भनेका छन् ।






