काठमाडौँ। पर्साको वीरगञ्ज महानगरपालिका-१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का आरोपितको खोजी जारी रहेको जनाएको छ।
प्रहरीका अनुसार असार ३१ गते बिहान करिब १०:५० बजे सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा विवाद हुँदा स्थानीय करिब ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए।
घटनापछि घाइते लिलावती देवीको नारायणी अस्पतालमा उपचार गरिएको थियो। प्रारम्भिक उपचारपछि साउन ३२ गते साँझ अस्पतालबाट डिस्चार्ज गरिएकी उनको साउन १४ गते साँझ स्वास्थ्य अवस्था पुनः जटिल बनेपछि पुनः सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न लक्की प्रसाद पटेललाई प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। फरार रहेका अर्का आरोपित मनोज प्रसाद कुर्मीको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।






