काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले मुलुकमा सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षासँग जोडिएका विषयलाई सबै पक्षले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। मधेसका विभिन्न क्षेत्रमा देखिएको तनाव र सामाजिक द्वन्द्वप्रति राज्य, राजनीतिक दल तथा समाज सबैले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले पछिल्लो समय मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा सामाजिक सद्भाव कायम राख्न सामूहिक जिम्मेवारी आवश्यक रहेको बताए।
हिन्दु राष्ट्रको माग राख्ने समूहसँग सरकारले सहमति गरेको भन्ने चर्चाप्रति प्रतिक्रिया दिँदै उनले सरकारले कुनै सहमति नगरी सम्बन्धित पक्षको मागपत्र मात्र बुझेको स्पष्ट पारे। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा नागरिकका माग सुन्नु राज्यको दायित्व भए पनि मागपत्र ग्रहण गर्नु र त्यसमा सहमति गर्नु फरक विषय हुन्।
आचार्यले सरकारले माग पत्रमा हस्ताक्षर नगरेको र त्यसलाई अध्ययन गर्ने प्रतिबद्धता मात्र जनाएको उल्लेख गर्दै यस विषयमा फैलाइएका भ्रमप्रति सचेत रहन आग्रह गरे।
रास्वपा सभापति रवि लामिछानेमाथि सुरक्षा निकाय परिचालन गरी निगरानी गरिएको भन्ने चर्चालाई पनि उनले आधारहीन दाबीको संज्ञा दिए। यस्ता विषयले अनावश्यक भ्रम सिर्जना गर्नेबाहेक मुलुकलाई कुनै लाभ नपुग्ने उनको टिप्पणी थियो।
मधेसका विभिन्न जिल्लामा देखिएको साम्प्रदायिक तनावबारे बोल्दै आचार्यले देवानगञ्जलगायतका क्षेत्रमा भएका घटना दुःखद भएको बताए। उनले मानवीय क्षति भएको घटनाप्रति संवेदना व्यक्त गर्दै त्यसको जिम्मेवारी सम्बन्धित सबै पक्षले लिनुपर्ने धारणा राखे।
सामाजिक सद्भाव कायम राख्ने प्रयासमा राज्य, राजनीतिक दल र समाज सबै पक्षबाट कमजोरी भएको हुन सक्ने उल्लेख गर्दै उनले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।






