काठमाडौँ। लागुऔषध नियन्त्रण ब्युरोले थाइल्यान्डबाट ल्याइएको गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
ब्युरोको टोलीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट ५ किलो ५०० ग्राम थाइल्यान्डको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार उच्च जोखिमयुक्त क्षेत्रमा निगरानी गर्ने क्रममा २०८३ साउन २० गते काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कमा दुई जना भारतीय नागरिकलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो।
प्रहरीले जाँच गर्ने क्रममा भारत उत्तर प्रदेशको लुधियाना ठेगाना भएका ४३ वर्षीय रेन्कु मेहेनले बोकेको सुटकेसभित्र लुकाइएको अवस्थामा ५ किलो गाँजा बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त गाँजा थाइल्यान्डबाट काठमाडौँ ल्याइएको र भारतबाट आएका व्यक्तिहरूले बुझ्ने योजना रहेको खुलेको ब्युरोले जनाएको छ।
अनुसन्धानकै क्रममा गाँजा लिन भारतको उत्तर प्रदेश लुधियानाबाट आएको भनिएको यूपी ३८ एपी १९७३ नम्बरको भारतीय गाडी धादिङको धुनीबेंसी नगरपालिका-९ कानाकोटस्थित पृथ्वी राजमार्ग छेउमा बेवारिसे अवस्थामा फेला परेको थियो।
उक्त गाडी खानतलासी गर्दा पछाडिको सिटमुनि लुकाइएको अवस्थामा थप ५०० ग्राम थाइल्यान्डको गाँजा बरामद भएको ब्युरोले जनाएको छ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लुधियानाका रेन्कु मेहेन र उत्तर प्रदेश जोयाका ३२ वर्षीय मोहम्मद हसनैन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट गाँजासहित भारतीय गाडी, एक थान पासपोर्ट र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
ब्युरोका अनुसार थाइल्यान्डबाट गाँजा पठाउने भनिएका साहादत खान र गाडी प्रयोग गरी गाँजा लिन आउने अन्य दुई व्यक्तिको खोजी भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त भारतीय गाडी यसअघि पनि दुई पटक नेपाल प्रवेश गरी थाइल्यान्डको गाँजा भारततर्फ लैजान प्रयोग भएको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।






