काठमाडौँ । नेकपा एमालेकी सांसद निता घतानीले प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधन आफ्नो व्यक्तिगत फेसबुक खातामार्फत सार्वजनिक गरेको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै घतानीले राज्यको प्रमुख कार्यकारीको सार्वजनिक अभिव्यक्ति व्यक्तिगत सामाजिक सञ्जालको माध्यमबाट नभई सरकारी तथा आधिकारिक संयन्त्रमार्फत सम्प्रेषण हुनुपर्ने धारणा राखिन्।
उनले डिजिटल प्रविधिको प्रयोगलाई अस्वीकार गर्न नहुने भए पनि राज्यका औपचारिक संस्थालाई पन्छाएर सामाजिक सञ्जालको पहुँच र प्रभावका आधारमा शासन सञ्चालन गर्न नहुने बताइन्।
प्रधानमन्त्रीको सम्बोधन व्यक्तिगत फेसबुक पेजको लोकप्रियता वा व्यावसायिक लाभसँग जोडिएको हो कि राष्ट्रका नाममा गरिएको औपचारिक सम्बोधन हो भन्ने प्रश्नसमेत उनले उठाइन्।
घतानीले सरकार सञ्चालनको आधार सामाजिक सञ्जाल नभई संविधान र राज्यका संस्थागत संरचना हुनुपर्नेमा जोड दिइन्। प्रधानमन्त्रीबाट व्यक्त विवादित अभिव्यक्तिका विषयमा पुनर्विचार गरी सच्याउनुपर्ने तथा त्यस्तो अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसमेत उनले प्रतिनिधिसभामा राखिन्।






