काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले आफूविरुद्ध सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट गम्भीर र भ्रामक आरोपहरू प्रचार भइरहेको भन्दै त्यसको खण्डन गर्न संसद्मै यस्तो घोषणा गरेका हुन्।
आफूमाथि मदिरा सेवन गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको तथा अश्लील भिडियोसँग जोडिएका आरोप लगाइएको उनले बताए। ती आरोपको तथ्य परीक्षण गर्न संसद्को स्वास्थ्य संयन्त्रअन्तर्गत चिकित्सकसहितको टोली बनाएर आफ्नो स्वास्थ्य परीक्षण गर्न उनले सभामुख र संसद्समक्ष आग्रह गरे।
शाहीले आफ्नो शरीरमा मदिराको कुनै प्रयोग भएको प्रमाणित भए पदबाटै हट्न तयार रहेको बताए। उनले जन्मदेखि हालसम्म आफूले मदिरा सेवन गरेको देखिए आफ्नो दाबी गलत प्रमाणित हुने र त्यस अवस्थामा सांसद पद छाड्ने प्रतिबद्धता जनाए।
उनले आफ्नो विषयमा फैलाइएको गलत सूचनाले व्यक्तिगत प्रतिष्ठामा मात्र नभई सार्वजनिक जीवनमै असर पारिरहेको बताए। गलत र भ्रामक सूचनाका कारण नेपालको इतिहासमा प्रथम प्रधानमन्त्री भीमसेन थापाले आत्महत्या गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै आफूले पनि त्यस्तै परिस्थितिको सामना गरिरहेको धारणा उनले राखे।
सांसद शाहीले आफ्नो स्वास्थ्य परीक्षणसँगै आधारहीन आरोप र सूचना फैलाउने व्यक्तिहरूको दाबीसमेत परीक्षणको दायरामा ल्याउनुपर्ने बताएका छन्। संसद् सदस्यका रूपमा आफूले गम्भीर आरोपको सार्वजनिक रूपमा तथ्य परीक्षण गराउन चाहेको उनको भनाइ थियो।






