काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिकामा साउन १४ गते नै साउन महिनाभरको हाजिरी गरेको विषयमा एक कर्मचारीले गल्ती स्वीकार गर्दै माफी मागेकी छन्।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक गीताकुमारी खड्काले हाजिरी रजिस्टरमा साउन महिनाभरको उपस्थितिमा हस्ताक्षर गरेको विषय सार्वजनिक भएपछि नगरपालिकाले उनीसँग स्पष्टीकरण सोधेको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार पोखरेलका अनुसार खड्काले आफूले हाजिरी गरेको स्वीकार गर्दै गल्ती भएको भन्दै माफी मागेकी हुन्।
नगरपालिकाकै एक प्राविधिक कर्मचारीका अनुसार खड्काले साउन १४ गते नै सिंगो महिनाभरको उपस्थितिको हाजिरी रजिस्टरमा हस्ताक्षर गरेकी थिइन्।
घटना सार्वजनिक भएपछि स्थानीय युवाहरू नगरपालिका पुगेर विरोधसमेत जनाएका थिए।






