काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षमा रहेका नेता-कार्यकर्ताको राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा मिराकल पार्टी प्यालेसमा कार्यक्रम अघि बढेको हो।
गत माघमा भएको काँग्रेसको विशेष महाधिवेशनप्रति असहमति राख्दै आएका सभापति शेरबहादुर देउवा तथा डा. शशांक कोइराला पक्षका नेता-कार्यकर्ता भेलामा सहभागी भएका छन्। भेलामार्फत पार्टीभित्रको पछिल्लो राजनीतिक तथा संगठनात्मक अवस्थाबारे धारणा आदानप्रदान हुने जनाइएको छ।
भेलामा निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जेन जेड आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि सिंगापुर गएका देउवा करिब पाँच महिनापछि बिहीबार नेपाल फर्किएका थिए।
देउवा स्वदेश फर्किएपछि उनको समूहका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। विमानस्थलबाट बाजागाजासहित उनलाई चुनदेवीस्थित समूहको सम्पर्क कार्यालय लगिएको थियो, जहाँ उनले सम्बोधनसमेत गरेका थिए।
राष्ट्रिय भेलाको बन्द सत्र साउन ३० र ३१ गते सञ्चालन हुने आयोजक पक्षले जनाएको छ। बन्द सत्रमा पार्टीको पछिल्लो अवस्था, संगठनात्मक विषय तथा विशेष महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।






