काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले कम तौलको ग्यास र म्याद नाघेका सिलिन्डर फेला परेपछि रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई दुई लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको छ।
बुढीगंगा गाउँपालिका-५ मा रहेको उद्योगमा बुधवार गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता हित विपरीतका गतिविधि भेटिएको भन्दै प्रशासनले कारबाही गरेको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय सम्मिलित टोलीले उद्योगको निरीक्षण गरेको थियो।
अनुगमन टोलीले उद्योग परिसरमा रहेका ग्यास भरिएका १९ वटा सिलिन्डरको तौल परीक्षण गरेको थियो। परीक्षणका क्रममा एउटा सिलिन्डरमा निर्धारित तौलभन्दा २४० ग्राम कम ग्यास भेटिएको प्रशासनले जनाएको छ।
उद्योगले म्याद नाघेका दुईवटा सिलिन्डरमा ग्यास भरेर बजार पठाउने तयारी गरेको अवस्थामा फेला पारिएको थियो। कम तौल र म्याद नाघेका सिलिन्डर प्रयोग गरेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो।
अनुगमनका क्रममा ग्यास उद्योग भने बन्द अवस्थामा रहेको थियो। यसअघि मोरङकै कोशी ग्यास उद्योगसमेत कारबाहीमा परेको थियो।
अनुगमन टोलीले विराटनगर महानगरपालिका-३ स्थित कञ्चनेश्वर ग्यास पसललाई पनि कारबाही गरेको छ।
जाँचबुझ र निरीक्षणमा अवरोध पुर्याएको भन्दै उक्त पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।







