काठमाडौँ । प्रतिनिधि सभा सदस्य केपी खनालले बैतडीको खोड्पेमा निर्माण गरिएको ट्रमा सेन्टर तथा पेट्रोल पम्प सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
बैतडीबाट धनगढी आउने क्रममा स्थानीयवासी तथा सरोकारवालासँग भएको छलफलमा सांसद खनालले ट्रमा सेन्टर सञ्चालन तथा पेट्रोल पम्पको अनुमतिसम्बन्धी विषयमा पहल गर्ने बताएका हुन्।
पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिस विष्टका अनुसार छलफलमा स्थानीय प्रतिनिधिले निर्माण सम्पन्न भए पनि ट्रमा सेन्टर सञ्चालनमा नआएको तथा लामो समयदेखि पेट्रोल पम्प सञ्चालनको अनुमति नपाएको विषय उठाएका थिए।
खोड्पे क्षेत्र सडक दुर्घटनाको उच्च जोखिममा रहेकाले स्थानीयवासीले निर्माण सम्पन्न ट्रमा सेन्टर तत्काल सञ्चालनमा ल्याउन माग गर्दै आएका छन्। ट्रमा सेन्टर सञ्चालनमा आए दुर्घटनामा घाइते भएकाहरूले समयमै आकस्मिक उपचार पाउने स्थानीयको अपेक्षा छ।
‘पेट्रोल पम्पको फाइल बोकेर मन्त्रालय जान्छु’
यसैगरी, स्थानीय एक युवकले नौ वर्षदेखि पेट्रोल पम्प सञ्चालनका लागि अनुमति माग्दै आए पनि प्रक्रिया ढुंगीन नसकेको विषय छलफलमा उठेको थियो। सांसद खनालले उक्त अनुमतिसम्बन्धी फाइल लिएर सम्बन्धित मन्त्रालयमा जाने र आवश्यक समन्वय गर्ने आश्वासन दिएका छन्।
‘दुर्घटनाग्रस्त क्षेत्रमा ट्रमा सेन्टर आवश्यक नै हो, यसलाई प्रयोगमा ल्याउनुपर्छ। यस विषयमा बुझ्छु,’ सांसद खनालले भने, ‘एक जना युवकले नौ वर्षदेखि पेट्रोल पम्प सञ्चालनको अनुमति माग्दै आएका छन्। यसको फाइल म बोकेर मन्त्रालय जान्छु।’
खनालले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उल्लेख गर्दै स्वीकृत आयोजना कार्यान्वयनमा अनावश्यक ढिलाइ हुन नदिन पहल गरिने बताए।






