काठमाडौँ । प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले बाढी पहिरोका कारण अवरुद्ध जाजरकोट–डोल्पा सडक खण्डलाई तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
सडक अवरुद्ध भएपछि डोल्पाका नागरिकको आवतजावत, आपूर्ति तथा दैनिक जनजीवन प्रभावित भएको भन्दै उनले अस्थायी पुनर्निर्माणमार्फत भए पनि यातायात सुचारु गर्न आग्रह गरेका हुन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बुढाले भेरी करिडोर डोल्पाका लागि अत्यावश्यक सडक सम्पर्क भएकाले लामो समय अवरुद्ध रहन नहुने बताए। उनले तत्काल सडक खुलाउने काम अघि बढाउन तथा आवश्यक परे वैकल्पिक मार्गसमेत सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए।
केही दिनअघि जाजरकोटका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण भेरी करिडोरमा क्षति पुगेको हो। प्राकृतिक विपद्का कारण सडक सम्पर्क विच्छेद हुनुका साथै मानवीय तथा भौतिक क्षति भएको सांसद बुढाले जानकारी गराए।
उनले विपदबाट प्रभावित नागरिकका लागि उद्धार तथा राहतको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउन माग गरेका छन्। सडक सम्पर्क पुन:स्थापना नहुँदा दुर्गम क्षेत्रका नागरिकले थप कठिनाइ भोग्नुपर्ने भएकाले सम्बन्धित निकायबीच समन्वय गरी तत्काल प्रतिकार्य अघि बढाउनुपर्ने उनको भनाइ छ।
यसैगरी, त्रिपुरा सुन्दरी नगरपालिकाका विभिन्न गाउँमा टेलिफोन सेवा अवरुद्ध रहेको विषयमा पनि सांसद बुढाले सरकारको ध्यानाकर्षण गराएका छन्। सञ्चार सम्पर्क विच्छेद हुँदा विपद्का बेला सूचना आदानप्रदान र सेवा प्रवाहमा समस्या पर्ने भएकाले टेलिफोन सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न उनले माग गरे।
बुढाले माथिल्लो डोल्पामा हालसम्म मोबाइल सेवा विस्तार हुन नसकेको विषयसमेत उठाउँदै दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार पहुँचमा जोड्न आवश्यक पूर्वाधार विकास गर्न सरकारसँग आग्रह गरेका छन्।
भेरी करिडोरको तत्कालीन अवरोध हटाउने, वैकल्पिक यातायात सम्पर्क कायम गर्ने तथा प्रभावित क्षेत्रमा सञ्चार सेवा पुन:स्थापित गर्ने विषयमा राज्यका सम्बन्धित निकायले प्राथमिकताका साथ काम गर्नुपर्ने उनको जोड छ।






