बर्दिया । बाँसगढी नगरपालिकाले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत नगरपालिकाका कर्मचारीको चरित्रहत्या गर्ने, भ्रम फैलाउने र संस्थागत प्रतिष्ठामा आँच पुर्याउने किसिमका सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ।
नगरपालिकाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नगरपालिका र कर्मचारीसँग जोडिएका धेरै पुराना घटनालाई वर्तमानमा भएको जस्तो देखाएर विषयलाई तोडमोड गरी भ्रम तथा नकारात्मकता सिर्जना गर्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
नगरपालिकाका अनुसार स्थानीय तह नागरिकलाई सेवा प्रवाह गर्ने महत्त्वपूर्ण सार्वजनिक संस्था भएकाले जनप्रतिनिधि तथा कर्मचारी प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार प्रतिको उत्तरदायित्व आत्मसात् गर्दै सार्वजनिक सेवा प्रवाहमा निरन्तर क्रियाशील छन्।
नगरपालिकाले सार्वजनिक पदमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि हातपात, दुर्व्यवहार, धम्की वा अभद्र व्यवहार गर्नुका साथै सामाजिक सञ्जालमार्फत चरित्रहत्या तथा संस्थागत प्रतिष्ठामा आँच पुग्ने सामग्री प्रसारण गर्नु स्वीकार्य नहुने जनाएको छ।
स्वस्थ आलोचना, रचनात्मक सुझाव तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने स्पष्ट पार्दै नगरपालिकाले सत्यतथ्य पुष्टि नगरी पुराना घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गर्ने, भ्रम फैलाउने तथा कर्मचारीको व्यक्तिगत एवं व्यावसायिक प्रतिष्ठामा आँच पुर्याउने गतिविधिप्रति गम्भीर रहेको उल्लेख गरेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारकर्मी तथा सरोकारवालालाई कुनै पनि सामग्री प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको समय, सन्दर्भ, सत्यता र आधिकारिकता स्वतन्त्र रूपमा पुष्टि गर्न नगरपालिकाले अनुरोध गरेको छ। भ्रामक सूचनाले आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गर्न सक्ने भन्दै विशेष संवेदनशीलता अपनाउन पनि आग्रह गरिएको छ।
नगरपालिकाले राष्ट्रसेवक कर्मचारीलाई सुरक्षित, सम्मानजनक र निर्भीक वातावरणमा जिम्मेवारी निर्वाह गर्ने अधिकार रहेको उल्लेख गर्दै कर्मचारीको मनोबल गिराउने, कार्यालयको कार्यसम्पादन प्रभावित गर्ने वा संस्थाको गरिमा र प्रतिष्ठामा आँच पुर्याउने गतिविधिले सुशासन, सेवा प्रवाह र स्थानीय सरकारप्रतिको जनविश्वासमा प्रतिकूल असर पार्ने जनाएको छ।
नगर प्रमुख खड्क बहादुर खड्काद्वारा जारी विज्ञप्तिमा नगरपालिकाको संस्थागत गरिमा, कर्मचारीको सम्मान, सुरक्षित कार्य वातावरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह कायम राख्न सबै सरोकारवालाको जिम्मेवार भूमिका अपेक्षा गरिएको छ।
नगरपालिकाले भ्रामक सामग्री प्रकाशन तथा प्रसारण नगर्न र जिम्मेवार समाचार सम्प्रेषण गर्न आग्रह गर्दै विज्ञप्तिमा उल्लेख गरिएका गतिविधि दोहोरिए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।






