काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले देशभरका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी ५०० दिनभित्र लालपुर्जा वितरण गर्ने लक्ष्य सार्वजनिक गरेकी छन्।
कञ्चनपुरमा स्थानीय भूमिहीन बस्तीका बासिन्दासँगको भेटमा मन्त्री रावलले सरकार गठन भएदेखि नै आफूले यस विषयलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताइन्। लामो समयदेखि समाधान हुन नसकेको समस्या भएकाले कानुनी र नीतिगत जटिलता रहे पनि त्यसको समाधान खोजिने उनको भनाइ छ।
रावलले भूमिहीन नागरिकलाई विस्थापनको त्रासमा नरहन आग्रह गरेकी छन्। कानुनअनुसार लालपुर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई प्रक्रिया पूरा गरेर जग्गाको स्वामित्व उपलब्ध गराइने र कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्थाबिना हटाउने काम नगरिने उनले स्पष्ट पारिन्।
केही जग्गा हाल नकारात्मक सूचीमा परेको भए पनि आवश्यक नीतिगत सुधारमार्फत समस्या समाधान गर्ने विकल्प खोजिने उनको भनाइ छ। भूमिहीनको समस्या संवेदनशील भएकाले दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्थासहित समग्र प्रक्रियालाई अघि बढाइने उनले बताइन्।
मन्त्री रावलले भूमिहीनसँगै सहकारी पीडितका विषयलाई पनि सरकारको प्राथमिकतामा राखिएको जानकारी दिइन्। भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निर्धारित प्रक्रिया पूरा गराएर भूमिको स्वामित्व दिलाउने सरकारको उद्देश्य रहेको उनले उल्लेख गरिन्।
समस्या जटिल भएकाले तत्काल सबै प्रक्रिया पूरा हुन नसक्ने भए पनि काम सुरु भइसकेको भन्दै उनले नागरिकलाई केही समय धैर्य गर्न आग्रह गरिन्। यस विषयलाई राजनीतिक प्रचार वा चुनावी मुद्दाका रूपमा मात्र प्रयोग हुन नदिई व्यवहारिक समाधानमा केन्द्रित हुने उनको दाबी छ।
मन्त्री रावलले पदमा रहेका व्यक्तिलाई काम सम्पन्न नगरी सम्मान गर्ने प्रवृत्तिप्रति समेत असन्तुष्टि जनाइन्। कञ्चनपुरमा आफ्नो स्वागतका लागि तयार पारिएको अबिर र खादा ग्रहण नगरेकी उनले नागरिकको समस्या समाधान गरेर फर्किएपछि मात्र त्यस्तो सम्मान स्वीकार गर्ने बताइन्।
उनले आफ्नो दल वा अन्य राजनीतिक दलका नेताहरूलाई पनि काम पूरा हुनुअघि सम्मान गर्न हतार नगर्न नागरिकलाई आग्रह गरिन्। अर्को पटक उक्त क्षेत्रमा आउँदा भूमिहीनको समस्या समाधानतर्फ ठोस प्रगति भएको अवसरमा मात्र अबिर र खादा ग्रहण गर्ने उनको भनाइ थियो।






