काठमाडौँ । रसुवामा बुधबार बिहान आएको आकस्मिक बाढीपछि टिमुरे क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका नौ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।
सशस्त्र प्रहरीका अधिकारीहरूले टिमुरेमा खटिएका कर्मचारी बाढीपछि सम्पर्कमा नआएको पुष्टि गरेका छन्। उनीहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुन बाँकी छ।
यसैगरी बाढीले नेपाल प्रहरीका इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रारम्भिक चरणमा टिमुरेमा खटिएका १५ प्रहरीमध्ये आठ जनासँग मात्रै सम्पर्क भएको विवरण आएको थियो। पछिल्लो समयमा विभिन्न सुरक्षा युनिटसँग सञ्चार सम्पर्क पुन:स्थापना र कर्मचारीको अवस्था यकिन गर्ने काम भइरहेको छ।
‘सम्पर्कविहीन’ र ‘बेपत्ता’ फरक
सञ्चार, सडक र विद्युत् सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्क हुन नसकेका सुरक्षाकर्मीलाई आधिकारिक पुष्टि नभएसम्म ‘बेपत्ता’ भन्न सकिने अवस्था छैन।
सुरक्षा निकायले उनीहरूसँग सम्पर्क गर्ने तथा आवश्यक खोज तथा उद्धारको काम जारी राखेका छन्।






