काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि पाँच जिल्लाका नदीतटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ।
प्राधिकरणद्वारा बुधबार जारी विशेष सूचनामा अर्को सूचना नआएसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।
विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
तीन सडकमा यात्रा नगर्न निर्देशन
प्राधिकरणले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेको छ।
स्थानीय तह तथा प्रशासनलाई आवश्यकताअनुसार ती सडकमा पूर्ण रोक लगाउनसमेत अनुरोध गरिएको छ। गृहमन्त्री सुधन गुरुङले पनि ती सडकमा आवतजावत पूर्ण रोक लगाउन आग्रह गरेका छन्।
खोज, उद्धार वा अन्य सहायता आवश्यक भए सरकारले उपलब्ध गराएका आपत्कालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ। प्राधिकरणले विपद्पछिको खोज, उद्धार तथा राहतमा समन्वय, सहयोग र सहजीकरण गर्न गराउन सम्बन्धित सबै निकायलाई अपिल गरेको छ।






