काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि नेपाली सेनाका ४४ सहित तीन सुरक्षा निकायका ८५ जना सुरक्षाकर्मी सम्पर्कबाहिर रहेका छन्।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका ४४ सैनिकसँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरू लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए।
सैनिक प्रवक्ता राजाराम बस्नेतले सम्पर्कबाहिर रहेका सैनिकसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको बताएका छन्।
‘केही सैनिकहरू सम्पर्कबाहिर छन्, हामीले सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ,’ बस्नेतले प्रशासनसँग भने, ‘हामी उद्धार कार्यमै खटिएका छौँ।’
बाढीपछि नेपाल प्रहरीका ३२ जना सुरक्षाकर्मी पनि सम्पर्कबाहिर छन्। त्यस्तै, सशस्त्र प्रहरी बलका नौ जना सुरक्षाकर्मीसमेत सम्पर्कमा आउन सकेका छैनन्।
हालसम्म उपलब्ध विवरणअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन सुरक्षा निकायका कुल ८५ जना सुरक्षाकर्मी सम्पर्कबाहिर छन्।
यसअघि नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको थियो। सेनाका अनुसार पछिल्लो विवरणसम्म बाढी प्रभावित ८८ जनाको हवाई उद्धार गरिएको छ।






