काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।
बुधबार बिहान ८ः४० बजे भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको जनाइएको छ। बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखाका तटीय क्षेत्र प्रभावित भएका छन्।
बाढी आए लगत्तै प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका कार्यलाई तीव्रता दिइएको सरकारले जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ।
प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै उनीहरूको दीर्घकालीन पुनः स्थापना गर्नुपर्ने आवश्यकता रहेको सरकारले उल्लेख गरेको छ।
उद्धार, राहत र पुनः स्थापना कार्यमा सहयोग पुर्याउन सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सक्दो आर्थिक सहयोग गर्न सबैलाई आग्रह गरेको छ।






