काठमाडौँ । रसुवामा आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा कार्यरत १९६ कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्।
नेपाल विद्युत् प्राधिकरणको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेमा स्वदेशीका साथै विदेशी कामदारसमेत छन्। उनीहरूसँग सम्पर्क स्थापित गर्न र अवस्थाबारे जानकारी लिन प्राधिकरणले खोज तथा उद्धार टोली परिचालन गरेको छ।
रसुवागढीमा ९२ कामदार सम्पर्कविहीन
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न ठेकेदार कम्पनीमार्फत मर्मतसम्भार तथा निर्माण कार्यमा संलग्न ९२ कामदार सम्पर्कविहीन छन्। केन्द्रमा रहेका ५१ जना भने सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ।
त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रको विद्युत्गृहमा मर्मत कार्यमा संलग्न ४५ कर्मचारी तथा कामदारसँग सम्पर्क हुन सकेको छैन।
निर्माणाधीन त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा कार्यरत त्रिशूली जलविद्युत् कम्पनीका २१ कर्मचारी पनि सम्पर्कविहीन छन्। सोही आयोजनास्थलमा कार्यरत चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनीका थप ११ जनासँग सम्पर्क हुन सकेको छैन।
चिलिमे र प्रसारण संरचनाका कर्मचारी पनि सम्पर्कबाहिर
चिलिमे जलविद्युत् केन्द्रको विद्युतगृह क्षेत्रमा रहेका छ जना र आवास क्षेत्र आसपासका एक जना सम्पर्कविहीन छन्। त्रिशूली २२० केभी ‘३ बी हब’मा ठेकेदार कम्पनीमार्फत कार्यरत १६ जनासँग पनि सम्पर्क हुन सकेको छैन।
प्राधिकरणको त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक-एक कर्मचारी सम्पर्कविहीन छन्। रसुवा वितरण केन्द्रबाट चिलिमे विद्युत्गृहको स्विचयार्डमा खटिएका एक कर्मचारी र सोही केन्द्रका गोटागन्ती मिटर रिडरसमेत सम्पर्कमा आएका छैनन्।
खोज तथा उद्धार टोली परिचालन
कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेर अवस्थाको अनुगमन गरेको छ।
श्रेष्ठका अनुसार सम्पर्कविहीनहरूको खोज तथा उद्धारका लागि प्राधिकरणको टोली परिचालन गरिएको छ। जोखिममा रहेका कर्मचारी र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न अर्को टोली पनि स्थानीय क्षेत्रमा सक्रिय छ।
प्रसारण तथा उत्पादन संरचना रहेका क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको उनले बताएका छन्। स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिको विवरण संकलन र खोज तथा उद्धार भइरहेको प्राधिकरणले जनाएको छ।






