काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय पुस्तकालय दिवसको मूल समारोह स्थगित गरेको छ।
मन्त्रालयले भदौ ११ गते जारी गरेको सूचनामा आगामी भदौ १५ गते आयोजना गर्ने तय भएको राष्ट्रिय पुस्तकालय दिवसको मूल समारोह हाललाई स्थगित गरिएको जनाएको हो।
‘बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य’ भन्ने नाराका साथ राष्ट्रिय पुस्तकालय दिवस मनाउने तयारी गरिएको थियो। तर देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट भएको जनधनको क्षतिले सिर्जना गरेको संवेदनशील र शोकपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै मूल समारोह स्थगित गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले समारोह स्थगित गरिएको विषयमा सम्बन्धित सबै पक्षलाई जानकारी गराएको छ। आगामी कार्यक्रमबारे भने पछि आवश्यक सूचना जारी गरिने जनाइएको छ।







