काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालित भएको छ।
नेपालस्थित चिनियाँ दूतावासले आइतबार चिनियाँ उद्धार विज्ञहरूले सुरुङमा खोज तथा उद्धार कार्य गरिरहेको जानकारी दिएको हो। दूतावासले भनेको छ, ‘चिनियाँ उद्धार विज्ञहरूले अहिले सुरुङमा खोज तथा उद्धार कार्य गरिरहेका छन्।’
चीनबाट आएका सुरुङ उद्धार विज्ञहरू बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको सुरुङमा भइरहेको उद्धार कार्यमा सहभागी भएका हुन्। चिनियाँ पक्षका अनुसार नेपाल सरकारको अनुरोधपछि विज्ञ टोली उद्धारमा खटिएको हो। पहिलो चरणमा पाँच जना चिनियाँ सुरुङ विशेषज्ञ शनिबार हेलिकप्टरमार्फत विपद् प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्यमा सहभागी भएका थिए।
यसैबीच आइतबार बिहान चीनबाट थप चार जना उद्धार विज्ञ तथा आवश्यक उद्धार उपकरण काठमाडौं आइपुगेका छन्। दुईवटा चिनियाँ वाई–२० सैन्य यातायात विमानमार्फत ती विज्ञसहित ५० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको हो।
चिनियाँ विज्ञहरूको सहभागितासँगै सुरुङमा भइरहेको खोज तथा उद्धारमा प्राविधिक सहयोग थपिएको छ।






