काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगिताको यात्रा जितबाट अघि बढाएको छ। मलेसियास्थित वाइएसडी युकेएम ओभलमा सोमबार भएको खेलमा नेपालले बहराइनमाथि ७ विकेटको सहज जित निकालेको हो।
बहराइनले प्रस्तुत गरेको ८८ रनको सामान्य लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमालले ३६ रन र रोहित पौडेलले १९ रन बनाउँदै अविजित रहेर टोलीलाई जितसम्म पुर्याए। बहराइनका इमरान जावेदले नेपालको दुई विकेट लिए भने एक विकेट रनआउटका रूपमा गुमेको थियो।
यसअघि टसमा पराजित नेपालले बहराइनलाई पहिले ब्याटिङको अवसर दिएको थियो। नेपाली बलिङ आक्रमणसामु टिक्न नसकेको बहराइन ३६.२ ओभरमा ८७ रनमै समेटियो।
नेपालका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत रूपमा प्रभावशाली बलिङ गर्दै १० ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइनको ब्याटिङ लाइनअप दबाबमा परेको थियो।
बहराइनका फियाज अहमदले १५ रन बनाउँदा मुहम्मद वासिमले १३ र अलि दाउदले १० रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा टोली न्यून योगफलमा सीमित भएको थियो।
सन्दीपले आफ्नो स्पेलको सुरुवात नै विकेटबाट गरेका थिए। १४औँ ओभरको पहिलो बलमै विकेट हात पारेका उनले सोही ओभरको चौथो बलमा अर्को सफलता निकाले। त्यसपछि पाँचौँ ओभरमा थप एक विकेट लिएका उनले सातौँ र आठौँ ओभरमा एक-एक विकेट थप्दै पाँच विकेट पूरा गरेका थिए।
प्रतियोगितामा नेपालले अब दोस्रो खेलमा आयोजक मलेसियाको सामना गर्नेछ। उक्त खेल बिहीबार हुनेछ।






