काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङभित्र गरिएको खोजीमा कुनै पनि व्यक्ति फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुन सक्ने आशंकापछि नेपाली सेनाको टोली इन्जिनियर तथा ड्रोन टोलीसहित सुरुङभित्र खोजीमा जुटेको थियो।
अन्तिम बिन्दुसम्म पुगेर खोजी
उद्धार टोली सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेको थियो। त्यहाँ ड्रोनसमेत उडाएर सम्भावित स्थानहरूमा खोजी गरिएको थियो। तर खोजीका क्रममा सुरुङभित्र मानवीय उपस्थिति फेला नपरेको जनाइएको छ।
बाढीपछि सुरुङभित्र मानिसहरू फसेको हुन सक्ने आशंकाका कारण उक्त क्षेत्रमा खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइएको थियो।
खोजी सकेर धुन्चे फर्कियो टोली
सुरुङको अन्तिम बिन्दुसम्म पुगेर गरिएको खोजीमा कोही पनि व्यक्ति फेला नपरेपछि त्यहाँको खोजी कार्य सम्पन्न गरिएको छ।
खोजी सम्पन्न गरेसँगै नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली सुरुङ क्षेत्रबाट रसुवाको धुन्चे फर्किएको छ।







