काठमाडौँ । रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका उद्धार तथा राहतसम्बन्धी गतिविधिलाई सहज बनाउन संघीय संसद् सचिवालयले कर्मचारी टोली परिचालन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आग्रह अनुसार सचिवालयका २० जना कर्मचारीलाई प्रभावित क्षेत्रमा खटाइएको सभामुख डोलप्रसाद अर्यालको निजी सचिवालयले जानकारी दिएको छ ।
विपद्को अवस्थामा प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यमा सम्बन्धित निकायबीच समन्वय र सहजीकरण आवश्यक रहेकाले कर्मचारी टोली परिचालन गरिएको हो ।
सचिवालयले बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा अन्य आवश्यक सहयोगका कार्यमा सहजीकरण गर्न आफ्नो तर्फबाट समन्वय र सहयोगलाई निरन्तरता दिने जनाएको छ ।






