काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्को पीडामा रहेका नागरिकमाथि अमानवीय व्यवहार गर्नेलाई विज्ञप्तिमा मात्र सीमित नभई कारबाही गरेर राज्य पीडितको पक्षमा रहेको अनुभूति दिलाउन सरकारलाई सुझाव दिएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै लामिछानेले पीडित नागरिकलाई हियाउने तथा उनीहरूको आक्रोशमाथि सामाजिक सञ्जाल वा सार्वजनिक स्थानमा तुच्छ टिप्पणी गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए। लामिछानेले सम्बोधन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह पनि बैठकमा उपस्थित थिए।
‘विज्ञप्ति मात्र होइन, परिणाम देखाउनुस्’
पीडित नागरिकमाथि कतैबाट अमानवीय दुर्व्यवहार भए राज्य कठोर रूपमा प्रस्तुत हुनुपर्ने लामिछानेले बताए।
‘पीडामा रहेका नागरिकलाई कतैबाट अमानवीय दुर्व्यवहार हुन्छ भने त्यस्ता व्यक्तिमाथि हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्रै निकाल्ने होइन, राज्य निर्मम र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला,’ उनले भने।
उनले सरकारको प्रतिबद्धता विज्ञप्ति र सार्वजनिक अभिव्यक्तिमा मात्र नभई कारबाही तथा परिणाममा देखिनुपर्नेमा जोड दिए।
पार्टी पंक्तिलाई तुच्छ टिप्पणी नगर्न निर्देशन
लामिछानेले नागरिकको आक्रोशलाई लक्षित गरी सामाजिक सञ्जाल, चोकचौतारो वा अन्य सार्वजनिक मञ्चमा होच्याउने किसिमका टीकाटिप्पणी नगर्न पार्टी पंक्तिलाई निर्देशन दिए।
विपद्मा परेका नागरिकलाई अपमान गर्ने र उनीहरूको पीडालाई अवमूल्यन गर्ने ‘अन्ध समर्थक’ रास्वपालाई आवश्यक नरहेको उनको भनाइ थियो।
सदस्यताबाट निष्कासन गर्ने चेतावनी
लामिछानेले सामाजिक सञ्जालमा पीडितमाथि तुच्छ टिप्पणी गर्ने व्यक्ति पार्टीमा आबद्ध रहेको पाइए साधारण सदस्यबाट समेत निष्कासन गरिने चेतावनी दिए।
पीडितको सम्मान, संवेदना र न्यायका पक्षमा पार्टी स्पष्ट रूपमा उभिने उल्लेख गर्दै उनले पार्टीको नाममा अमानवीय अभिव्यक्ति दिनेलाई संरक्षण नगर्ने बताएका छन्।






