झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भएको भन्दै झुटो परिचय दिएको आरोपमा झापाबाट एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले हल्दिबारी गाउँपालिका-१ का २६ वर्षीय सुजन विश्वकर्मालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विश्वकर्माले आफू विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको परिचय दिँदै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थाहरूमा प्रवेश गर्ने गरेका थिए। उनीमाथि सम्बन्धित निकाय र व्यक्तिलाई दबाब तथा धाक धम्की दिने गरेको आरोपसमेत लागेको छ।
दाबी गरेको पद वास्तविक नभएको प्रहरीको भनाइ
उनले आफू रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको परिचय दिने गरेको प्रहरीले जनाएको छ।
तर, उनले दाबी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पाँच दिन हिरासतमा राख्न अनुमति
विश्वकर्मामाथि थप अनुसन्धान गर्न झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।
उनले झुटो परिचय दिएर कसैबाट कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि-नोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।






