काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले विपद्पछिको राहत, खोज तथा उद्धार, पुनस्र्थापना र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गराएकी हुन् । उनले बाढीपीडितका लागि राहत संकलन भए पनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको जनगुनासो आएको भन्दै प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन माग गरिन्। उनले बेपत्ता नागरिकको खोजीमा ढिलाइ, राहत वितरणमा विभेद र पुनर्स्थापनाको तयारी समेत नभएको भन्दै सरकारको आलोचना पनि गरिन्। उनले सरकारले आफ्नो सामर्थ्यको समयमै आँकलन गर्न नसक्दा ठूलो क्षति भएको पनि बताइन् । उनले विश्वविद्यालय तथा क्याम्पसका इन्जिनियर र विभिन्न क्षेत्रका विज्ञलाई परिचालन गर्न नगरेको तथा सर्वदलीय बैठकमार्फत राजनीतिक दलहरूसँग समन्वय र सहकार्य गर्ने कार्यमा समेत सरकार चुकेको टिप्पणी गरिन्।
उनले भनिन्, ‘आजका दिनमा पनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको जनगुनासो आइरहेको छ । पीडितका निम्ति राहत जम्मा भएकै छ । जुनसुकै उपाय अवलम्बन गरेर भए पनि ती ठाउँमा पर्याप्त राहत पुर्याउने तत्काल व्यवस्था गरियोस् । । सत्तारूढ दलका सभापतिज्यूले पनि यही रोस्टममा व्यक्त गर्नुभएको छ, म त्यसलाई पनि समर्थन गर्छु र हाम्रो पनि यो जोरदार कुरा राख्न चाहन्छु । राहत, खोज, उद्धार, पुन:स्थापना, पुनर्निर्माणका काममा थप प्रभावकारी बनाउन सहयोग पुग्ने गरी संसदीय विशेष समिति गठन गरियोस् । विपद् प्राकृतिक भए पनि विपद्पछि हुने मृत्यु, बेपत्ता नागरिकको खोजीमा हुने ढिलाइ, राहतमा हुने विभेद र पुन:स्थापनामा हुने ढिलाइ सबै प्राकृतिक विपत्ति होइनन् । यो राज्यको तयारी क्षमता र जबाफदेहितासँग जोडिएका प्रश्न हुन् ।’
उनले तत्काल पुनर्निर्माण प्राधिकरण गठन गर्न समेत सरकारसँग माग गरिन् ।






